नापोली सिरी ए लिगको तेस्रो स्थानमा उक्लियो

काठमाडौं, मंसिर २८
इटालियन क्लब नापोली घरेलु सिरी ए लिगको टप–३ मा चढेको छ । आज आइतबार भएको लिगको ११औं खेलमा नापोलीले आफ्नो घरेलु मैदानमा साम्पडोरियामाथि २–१ को कमब्याक जित निकाल्दै महत्त्वपूर्ण ३ अंक जोड्न सफल भयो ।

पाहुना टोली साम्पडोरियाले पहिला नापोलीविरुद्ध खेलमा अग्रता लिएको थियो । जाकुब जाङ्टोले २०औं मिनेटमा गोल गरेर घरेलु टोलीलाई झट्का दिएका । सोही गोलको अग्रता बचाएर पहिलो हाफमा नापोलीले खेल ०–१ ले आफ्नो पक्षमा राख्यो ।

तर, दोस्रो हाफमा घरेलु टोलीले कमब्याक गर्न सफल भयो । खेलको ५३औं मिनेटमा नापोलीका लागि हार्भिङ लोजानोले गोल गर्दै खेल १–१ बनाए । त्यसपछि खेलको ६८औं मिनेटमा आन्ड्रेया पेटाग्नाले गोल गरेपछि नापोली जिततर्फ अघि बढेको थियो । बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल नापोलीले २–१ ले जित्यो ।

अब यो जितसँगै नापोली ११ खेलबाट २३ अंक जोडेर तेस्रो स्थानमा चढेको छ । पराजित साम्पडोरिया समान खेलपछि ११ अंकसहित १३औं स्थानमा रहेको छ । आज रातिका अन्य खेलपछि हालको अंक तालिका फेरबदल हुनेछ ।

आजै भएका अन्य खेलमा एटलान्टाले आफ्नो घरमा फ्योरेन्टिनालाई ३–० ले हरायो । अर्को खेलमा रोमाले बोलोग्नालाई उसकै घरमा १–५ ले हरायो । यी खेलपछि एटलान्टा १० खेलपछि १७ अंक बनाएर आठौं स्थानमा चढेको छ । यता, रोमा ११ खेलपछि २१ अंक बनाएर पाँचौं स्थानमा पुगेको छ ।

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार २२:२४
Loading...