अन्तिम समयमा गोल खाएपछि टोटनह्याम जितबाट वञ्चित : शीर्ष स्थान धरापमा

काठमाडौं, मंसिर २८
इंग्लिस प्रिमियर लिग फुटबलमा यो सिजन शानदार लयमा रहेको टोटनह्याम लिगको १२औं खेलमा बराबरीमा रोकिएको छ । आइतबार क्रिस्टल प्यालेससँग उसैको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली टोटनह्यामले अग्रता बचाउन नसक्दा अन्तिम समयमा गोल खाएपछि जितबाट वञ्चित बनेको हो । खेल १–१ मा सकिएको थियो ।

टोटनह्यामका लागि खेलको २३औं मिनेटमा ह्यारी केनले निकै सुन्दर गोल गरेका थिए । सन हेङ मिनको पासमा उनले बक्स बाहिरबाट हानेको कडा प्रहारलाई घरेलु टोलीका गोलकिपरले लडेर रोक्न प्रयास गरेका थिए । तर, उनको हात छिचोल्दै बलले जाली चुमेपछि खेलमा टोटनह्यामले अग्रता लियो ।

टोटनह्याम सोही अग्रता बचाएर जितनिक पुगेको थियो । तर, खेलको ८१औं मिनेटमा फ्रि किकबाट आएको बललाई टोटनह्यामका गोलकिपर लोरिसले क्लियर गर्न नसक्दा रिबाउन्ड बलमा जेफ्री प्यालेसका स्चलुपले गोल गरेपछि खेल १–१ भयो । त्यसपछि टोटनह्यामले थप गोल गर्न सकेन । र, खेल बराबरीमा सकियो ।

यदि यो खेल जितेको भए टोटनह्यामले यो सिजनको पाँचौं अवे जित निकाल्ने थियो । आजको खेलमा प्यालेसले टोटनह्यामविरुद्ध गोल गर्दा जोसे मोउरिन्होको कमान्डमा रहेको टोलीले नोभेम्बर १ देखियता लिगमा पहिलोपटक गोल खाएको छ ।

अब यो बराबरीपछि पनि टोटनह्याम १२ खेलपछि २५ अंकसहित शीर्ष स्थानमा रहेको छ । तर, आजै राति लिभरपुलले आफ्नो खेल जिते टोटनह्याम दोस्रो स्थानमा झर्नेछ । आज स्पष्ट जित निकाल्न नसक्दा टोटनह्यामको शीर्ष स्थान धरापमा परेको छ । लिभरपुलले आफ्नो भरमा फुलहामसँग खेल्दै छ । यता, टोटनह्यामलाई रोकेको प्यालेस हाल १२ खेलपछि १७ अंक बनाएर ११औं स्थानमा रहेको छ ।

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार २२:०८
Loading...