घरेलु मैदानमा १–५ ले हारेको २४ घन्टा नबित्दै डर्टमुन्डका प्रशिक्षक बर्खास्त !

एजेन्सी, मंसिर २८
जर्मन क्लब बोरुसिया डर्टमुन्डका प्रमुख प्रशिक्षक लुसिएन फाब्रेलाई क्लबले बर्खास्त गरेको छ । गत राति बुन्डेसलिगामा घरेलु मैदानमा यसै सिजन शीर्ष लिगमा बढुवा भएको क्लब स्टटगार्टसँग १–५ को बेइज्जतीपूर्ण हारको २४ घन्टा नबित्दै उनलाई क्लबले पदबाट हटाएको हो ।

६३ वर्षीय स्वीस म्यानेजरलाई क्लबले जिम्मेवारीबाट हटाएको पुष्टि गरेको छ । गत राति लिगमा आफ्नै घरमा नयाँ टिमसँग १–५ को अप्रत्यासित हारपछि क्लबले उनलाई अन्य खेल नपर्खी तत्कालै जिम्मेवारीबाट हटाएको हो ।

फाब्रे सन् २०१८ को जुलाई १ मा फ्रेन्च क्लब ओजिसी नाइस छाडेर डर्टमुन्डमा अनुबन्ध भएका थिए । जर्मन क्लबलाई कूल ११० खेल खेलाए, जसमा ६८ खेल जिते भने १८ खेल बराबरी हुँदा २४ खेल हारे ।

गत रातिको हारपछि डर्टमुन्ड लिगमा ११ खेलपछि मात्रै १९ अंक बनाएर पाँचौं स्थानमा झरेको छ । डर्टमुन्ड कुनैबेला शीर्ष स्थानका लागि बार्यन म्युनिखसँग प्रतिस्पर्धामा थियो । तर, पछिल्लो समय लिगमा उसले खराब नतिजाको सामना गरिरहेको थियो । उसले पछिल्ला ५ लिग खेलमा मात्रै १ खेल जित्दा ३ खेलमा हार व्यहोरेको छ भने १ खेल बराबरी गरेको छ ।

यता, डर्टमुन्ड च्याम्पियन्स लिगमा समूह ‘एफ’ बाट विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । तर, लिगमा लगातार खराब नतिजा आएपछि क्लबले फाब्रेलाई जिम्मेवारीबाट मुक्त गरेको हो ।

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार २०:४४
Loading...