रोनाल्डो मेस्सीभन्दा आत्मीय र पहुँचयोग्य सहकर्मी : अर्थुर

एजेन्सी, मंसिर २८
इटालियन क्लब युभेन्टसका नयाँ ब्राजिलियन खेलाडी अर्थुर मेलोले आफ्ना पूर्वसहकर्मी स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी र हाल युभेन्टसका सहकर्मी क्रिस्टियानो रोनाल्डोको तुलना गरेका छन् । दुई खेलाडीको व्यवहारलाई लिएर तुलना गर्दै अर्थुरले पोर्चुगिज रोनाल्डोको पक्ष लिएका छन् । अर्थुरले रोनाल्डोलाई ‘सहकर्मीका लागि सजिलै पहुँचमा रहने’ र ‘मिलनसार’ खेलाडी भनेका छन् ।

अर्थुर गत समर विन्डोमा बार्सिलोनाबाट युभेन्टस पुगेका थिए । बार्सिलोनामा उनले मेस्सीसँग दुई सिजन सँगै खेले । तर, युभेन्टसमा त उनले रोनाल्डोसँग आधा सिजन पनि खेलिसकेका छैनन् । रोनाल्डोसँग थोरै खेल मात्रै एकसाथ खेलेका छन् । छोटै अवधिमा पनि आफूले मेस्सीभन्दा रोनाल्डोको व्यवहार सहकर्मीहरूसँग बढी आत्मीय र सहज रहेको अर्थुरले बताएका छन् ।

अर्थुरका अनुसार बार्सिलोनाका मेस्सीसँग सजिलै कुरा गर्न, संवाद गर्न, भेट्न वा समय बिताउन लरतर पाइँदैन । तर, युभेन्टसका रोनाल्डो जो कोही सहकर्मीका लागि सजिलै पहुँचामा हुने खेलाडी हुन् । र, रोनाल्डो हरेक सहकर्मीहरूसँग लगातार संवाद र सम्पर्कमा रहने गर्छन् । यस्तो अर्थुरले स्पेनको पत्रिका ‘एएस’ सँग कुरा गर्नेक्रममा बताएका छन् ।

युभेन्टसमा हालसम्म अर्थुरले कूल १२ खेल मात्रै खेलेका छन् । तर, उनले बार्सिलोनामा दुई सिजनमा कूल ७२ खेल खेल्दै ४ गोल गरेका थिए । यद्यपि, रोनाल्डोसँग छोटो समय मात्रै बिताउँदै गर्दा पनि उनले मेस्सी आफ्ना सहकर्मीसँग सजिलै पहुँचमा नरहने बताए । ‘क्रिस्टियानो र लियो दुवै प्रतिभावान् र महान् खेलाडी हुन्, यसमा कुनै शंका नै छैन । दुवै अद्भुत छन् र च्याम्पियन हुन्,’ अर्थुरले भने ।

अर्थुरले अघि थपे, ‘यदि उनीहरूले ३ गोल गरे भने तत्कालै चौथो गोलका बारेमा सोच्दछन् । दुवैजनाले अरूलाई हौसला दिन्छन् । र, तपाईंलाई सधैं बेस्ट बन्न सहयोग गर्छन् । तर, लियोभन्दा रोनाल्डो बढी दृढ र हिम्मतवाला खेलाडी हुन् । यो मेरो अनुभव हो ।’

अर्थुरले मेस्सी भन्दा रोनाल्डो पाहुँचयोग्य खेलाडी रहेको भन्दै यसरी तुलना गरे– ‘उनीहरूको तुलना गर्दा मेस्सीभन्दा रोनाल्डो पहुँचयोग्य खेलाडी हुन् । किनभने, उनी हामीसँग धेरै कुरा गर्न र घुलमिल हुन मन पराउँछन् । उनी मैदानभित्र, मैदानबाहिर, बेन्चमा वा प्रशिक्षणमा, सधैं टिममेटसँग दोहोरो संवाद गरिरहेका हुन्छन् । उनी रहेक खेलाडीसँग वान टु वान टचमा हुन्छन् । उनी सहकर्मीका बारेमा कुरा काट्दैनन् । बरु प्रेरणा दिन्छन् । उनी साँच्चै फरक र विशेष छन् ।’

त्यसैगरी, अर्थुरले रोनाल्डोको प्रशिक्षणको विषयमा पनि धारण राखेका छन् । ‘क्रिस्टियानो जनावरजस्तै प्रशिक्षण गर्छन् । उनी आफैंलाई पनि थाहा छैन होला कि, विश्राम के हो भनेर । उनी सधैं उत्कृष्टताका लागि हौसला बाँड्छन् । उनी कुनै मौका छाड्न चाहँदैनन् । उनी मानिसक रूमा धेरै नै बलिया छन् । मैले उनीजस्तो आत्मविश्वासी कोही देखेको छैन । एकाबिहानै ट्रेनिङ सेन्टरमा देखिनु त उनको विशेषता नै हो । उनको प्रशिक्षणमा पागलपना देखेर म चकित पर्छु ।’

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार १८:५३
Loading...