यसपटक च्याम्पियन्स लिग विजेताबारे लिजेन्ड रिभाल्डोले गरे भविष्यवाणी

एजेन्सी, मंसिर २८
च्याम्पियन्स लिग फुटबलमा जारी सिजन अन्तिम १६ को समीकरण पूरा भइसकेको छ । समूह चरणबाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन इन्टर मिलानबाहेक अन्य सबैजसो बलिया टोली अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । प्रमुख उपाधि दाबेदार सबै टिमहरू ठीकठाक अर्को चरण छन् । यसपटक युरोपियन च्याम्पियन को बन्ला ? मानिसले आ–आफ्नो अनुमान लगाउन थालिसकेका छन् ।

यस्तैमा, ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले यसपटक च्याम्पियन्स लिगको विजेता टोलीबारे भविष्यवाणी गरेका छन् । स्पेनिस बार्सिलोनाका लिजेन्ड खेलाडीसमेत रहेका उनले उपाधिका लागि मुख्य दाबेदार टिम छानेका छन् । उनले साबिक च्याम्पियन बार्यन म्युनिख, इंग्लिस क्लब लिभरपुल, इटालियन युभेन्टस र फ्रेन्च क्लब पिएसजीमध्ये एक टिमले उपाधि जित्ने अनुमान गरेका छन् ।

तर, रिभाल्डोले पूर्वक्लब बार्सिलोनालाई भने अन्तिम १६ बाटै अघि बढ्न कठिन हुने बताएका छन् । बार्सिलोना हालकै स्थितिमा अन्तिम आठमा पुग्न नसक्ने रिभाल्डोले बताएका छन् । ‘बार्सिलोनालाई म नजिकबाट नियालिरहेको छु । त्यहाँ अहिले थुप्रै समस्या छन् । त्यहाँको स्थितिमा तत्कालै सुधार आएन भने मैले बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ बाट अघि बढ्ने सम्भावना देखेको छैन,’ रिभाल्डोले भने, ‘हालकै स्थितिमा बार्सिलोना च्याम्पियन्स लिग मात्रै नभएर कुन पनि उपाधि जित्न योग्य छैन ।’

रिभाल्डोले बार्यन, लिभरपुल र युभेन्टस प्रमुख उपाधि दाबदार रहेको बताए । ‘बार्यन, लिभरपुल, पिएसजी, युभेन्टस यसपटक राम्रो अवस्थामा छन् । मैले व्यक्तिगत रूपमा बार्यन र युभेन्टसलाई प्रमुख दाबेदार मानेको छु । लिभरपुल र पिएसजी सेमिफाइनलसम्म पुग्न सक्छन् ।’

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार १३:४५
Loading...