सिरी ए लिगमा आज ६ खेल : युभेन्टस, नापोली, इन्टर र एसी मिलानको खेल आजै

काठमाडौं, मंसिर २८
इटालियन सिरी ए लिग फुटबल प्रतियोगितामा आज विभिन्न ६ खेलहरू हुँदैछन् । आज हुने खेलहरूमध्ये एक खेलमा जेनोआ र युभेन्टससको खेल पनि हुँदैछ । यो खेलका लागि जेनोआले युभेन्टसलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । आजै उपाधि होडमा रहेका इन्टर मिलान, नापोली, एटलान्टा, एसी मिलानले पनि आ–आफ्नो खेल खेल्दैछन् ।

यो सिजन लिगमा सामान्य सुरुआत गरेको युभेन्टस हाल लिगमा १० खेलपछि २० अंक बनाएर पाँचौं थानमा छ । ऊ अझैसम्म लिगमा अपराजित नै रहेको छ । उसले १० मध्ये ५ खेल जितेर ५ खेल बराबरी गरेको छ । यता, युभेन्टससँग खेल्न लागेको जेनोआ हाल १० खेलपछि ६ अंक बनाएर १८औं स्थानमा छ ।

आज जेनोआको घरेलु मैदानमा उत्रिँदा युभेन्टससँग सबैजसो प्रमुख खेलाडी उपलब्ध छन् । क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा, पाउलो डिबाला सबै टोलीमा समेटिएका छन् । यो सिजन उच्च लमा रहेका रोनाल्डोका लागि आज गोल संख्या बढाउने अवसर हुनेछ । उनले हालसम्म ५ खेलबाट ८ गोल र २ असिस्ट गरेका छन् ।

लिगको अंक तालिकामा हाल एसी मिलान १० खेलपछि २६ अंक बनाएर शीर्ष स्थानमा छ । ११ खेलपछि २२ अंक भएको सासुओलो दोस्रो स्थानमा छ । १० खेलपछि २१ अंक भएको इन्टर मिलान २१ अंकसहित तेस्रोमा रहँदा १० खेल नै खेलेको नापोली २० अंकसहित चौथोमा छ । ११ खेलपछि लाजियो १७ अंकसहित आठौं स्थानमा रहँदा ९ खेल खेलेको एटलान्टा १४ अंकसहित नवौं स्थानमा छ ।

आजका खेल नेपाली समयमा

क्याग्लिअरी भर्सेस इन्टर मिलान – साँझ ५ः१५ बजे

नापोली भर्सेस साम्पडोरिया – राति ७ः४५ बजे

एटलान्टा भर्सेस फ्लोरेन्टिना – राति ७ः४५ बजे

बोलोग्ना भर्सेस रोमा –राति ७ः४५ बजे

जेनोआ भर्सेस युभेन्टस – राति १०ः४५ बजे

एसी मिलान भर्सेस पार्मा – राति १ः३० बजे

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार १२:४५
Loading...