ला लिगा : दबाबबीच बार्सिलोना आज लेभान्टेको सामना गर्दै

काठमाडौं, मंसिर २८
स्पेनिस ला लिगा फुटबलमा आज विभिन्न ४ खेल हुँदैछन् । आज हुने खेलहरूमध्ये बार्सिलोना र लेभान्टेको खेल आकर्षणको खेल हुनेछ । यो सिजन लिगमा खराब स्थितिबाट गुज्रिरहेको बार्सिलोना आज लिगको ११औं साताको खेल खेल्न लेभान्टेलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ठीक १ः४५बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा बार्सिलोना १० खेलपछि १४ अंकसहित नवौं स्थानमा रहेको छ । उसले हालसम्म मात्रै ४ खेल जितेर २ खेल बराबरी गरेको छ भने ४ खेल नै हारेको छ । बार्सिलोना लिगमा यतिबेला ३२ वर्षयताकै सबैभन्दा खराब स्थितिमा रहेको छ । यता, लेभान्टे हाल ११ खेलपछि ११ अंकसहित १८औं स्थानमा रहेको छ ।

बार्सिलोनालाई लिगमा अवस्था सुधार्न आजको खेल महत्त्वपूर्ण हुनेछ । गत रातिको मड्रिड डर्बीपछि बार्सिलोना लिग लिडर एथ्लेटिको मड्रिडभन्दा १२ अंकले पछि छ भने रियल मड्रिडभन्दा ९ अंकले पछि परिसकेको छ । तर, बार्सिलोनाले एक खेल कम खेलेको छ ।

आज घरेलु मैदान क्याम्प नोउ रंगशालामा उत्रिँदा बार्सिलोनासँग कप्तान लिओनल मेस्सीसहितका खेलाडी उपलब्ध छन् । युवा स्टार अन्सु फाती, उसामान डेम्बेले चोटका कारण टोलीमा छैनन् । तर, पछिल्लो समय राम्रो लयमा रहेका मार्टिन ब्रेथवेट र एन्टोनी ग्रीजम्यान ठीकठाक टोलीमा हुनेछन् ।

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार ११:४३
Loading...