मड्रिड डर्बीमा रियलले एथ्लेटिकोलाई हरायो : अंक तालिकामा सुधार

काठमाडौं, मंसिर २८
स्पेनिस ला लिगा फुटबलमा नयाँ सिजन २०२०–२१ अन्तर्गत सिजनको पहिलो मड्रिड डर्बी रियल मड्रिडले जितेको छ । नेपाली समयअनुसार आइतबार बिहान मड्रिड सहरका दुई ठूला टोलीबीच भएको भिडन्तमा घरेलु टोली रियल मड्रिडले पाहुना टोली एथ्लेटिको मड्रिडमाथि २–० को सहज जित निकाल्न सफल भयो । टिम ‘बी’ को घरेलु मैदान स्टाडियो अल्फ्रेडो डि स्टेफानो रंगशालामा रियलले पाहुना टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो ।

रियलको जितमा १ गोल ब्राजिलियन खेलाडी कासेमिरोले गरे भने अर्को गोल ड्यानी कार्भाहालको खतरनाक सटमा एथ्लेटिकोका गोलकिपरबाट आत्मघाती गोल भएको थियो । रियलका लागि खेल सुरु भएको १५औं मिनेटमै मिडफिल्डर कासेमिरोले गोल गर्दै अग्रता दिलाएका थिए । टोनी क्रुसको कर्नर किकबाट आएको बलमा बक्सभित्र अनमार्क रहेका कासेमिरोले निकै सुन्दर फिनिसिङमा हेडिङ गोल गरेका थिए ।

पहिलो हाफमा रियलले एथ्लेटिकोविरुद्ध कूल ७ आक्रमण बुन्दा ३ प्रहार अन टार्गेट हानेको थियो । तर, पाहुना टोली एथ्लेटिकोले पहिलो हाफमा रियलको पोस्टमा एकपटक पनि आक्रमणको मुभ बनाउन सकेन, अन टार्गेट प्रहारको त कुरै भएन ।

दोस्रो हाफमा पाहुना टोलीले केही सुधारिएको खेल खल्यो । तर, दोस्रो गोल खाएपछि उसको हातबाट खेल फुत्कियो । खेलको ६३औं मिनेटमा रियलका डिफेन्डर कार्भाहालले लामो दूरीबाट हानेको रकेट सट पोलमा लागेर गोलकिपर जान ओब्लाकलाई लाग्दै पोस्टमा छिरेपछि खेलमा रियलले २–० को अग्रता लियो । सो गोललाई आत्मघाती गोलको मान्यता दिइयो ।

२ गोल खाएपछि पाहुना टोली एथ्लेटिको खेलमा फर्किन सकेन । र, खेल रियलले २–० ले जित्यो । अब यो जितपछि रियलले अंक तालिकामा उल्लेख्य सुधार गरेको छ । उसले १२ खेलबाट २३ अंक जोडेर तेस्रो स्थानमा चढेको छ । यता, पराजित एथ्लेटिको अझै पनि ११ खेलपछि २६ अंकका साथ शीर्ष स्थानमा यथावत छ । रियल अब एथ्लेटिकोभन्दा ३ अंकले मात्रै पछि छ । यता, यो खेलपछि रियलले बार्सिलोनालाई ९ अंकले पछि छाडेको छ । त्यसैगरी, बार्सिलोना एथ्लेटिकोभन्दा स्पष्ट १२ अंकले पछि परेको अवस्थामा छ ।

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार ०३:३९
Loading...