प्रिमियर लिग : म्यानचेस्टर डर्बी बराबरीमा सकियो

काठमाडौं, मंसिर २८
इंग्लिस प्रिमियर लिग फुटबलमा नयाँ सिजन २०२०–२१ को पहिलो म्यानचेस्टर डर्बी खेल गोलरहित बराबरीमा सकिएको छ । नेपाली समयअनुसार आइतबार बिहान म्यानचेस्टर सहरका दुई क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीच भएको हेभिवेट खेल गोलरहित ०–० को बराबरीमा सकिएको हो ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्ड रंगशालामा भएको खेलमा दुवै टिमले गोल गर्न नसक्ँदा नतिजा ०–० मा सकियो । यो बराबरीपछि दुवै टिमले १–१ अंक बाँडे । चर्को प्रतिस्पर्धा भएको खेलमा घरेलु टोली युनाइटेडले खेलभरिमा कूल ४६ प्रतिशत बल नियन्त्रणमा राखेर ११ सट हान्दा २ सट मात्रै सही दिशामा थिए ।

यता, पाहुना टोली सिटीले खेलभरमा ५४ प्रतिशत बल आफ्नो पकडमा राखेर ९ सट हाने पनि उसले पनि २ सटभन्दा बढी सही दिशामा प्रहार गर्न सकेन । युनाइटेडले खेलको ४७औं मिनेटमा पेनाल्टी पाएको थियो । तर, पछि भिएआरमार्फत् पक्का गरेर सुरुमा दिइएको पेनाल्टी रद्द गरिएपछि सिटी गोल खानबाट बचेको थियो । युनाइटेडका फरवार्ड मार्कुस रासफोर्डले पेनाल्टी जिते पनि भिएआरले उनी आफैं अफसाइड रहेको पुष्टि गरेको थियो ।

अब यो बराबरीसँगै युनाइटेडले ११ खेलबाट २० अंक जोडेर सातौं स्थानमा छ । सिटी समान खेलबाट १९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार ०१:११
Loading...