उपहार गोलको मदतमा सेभिल्लाले गेटाफेलाई घरमै हरायो

काठमाडौं, मंसिर २७
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा सेभिल्लाले उपहार गोलको मदतमा महत्त्वपूर्ण अंक जितेको छ । शनिबार राति भएको लिगको ११औं साताको खेलमा सेभिल्लाले गेटाफेलाई उसकै घरेलु मैदानमा ०–१ ले हरायो । गेटाफेले अन्तिम समयमा आफ्नै पोस्टमा गोल गरेपछि उसले घरमै ३ अंक गुमायो ।

आफ्नो घरमा सुरुआतबाटै दबाबमा परेको गेटाफेले खेलभरि जम्मा २४ प्रतिशत बल आफ्नो पकडमा राख्दा ७ प्रहार गरेको थियो, जसमा एक सट मात्रै अन टार्गेट थियो। यता, पाहुना टोली सेभिल्लाले कूल ७६ प्रतिशत बल आफ्नो पकडमा राख्दा उसले ८ प्रहार गरेको थियो । तर, उसका कुनै पनि प्रहार अन टार्गेट थिएनन् ।

खेल गोलरहित बराबरीतर्फ अघि बढेका बेला खेलको ८१औं मिनेटमा गेटाफेका जाबिर इट्जेटियाले आफ्नै पोस्टमा गोल गरेपछि खेल सेभिल्लाले ०–१ ले जित्यो । अब यो जितपछि सेभिल्ला ११ खेलबाट १९ अंक जोडेर पाँचौं स्थानमा चढेको छ । पराजित गेताफे १३ अंकसहित १५औं स्थानमा छ ।

प्रकाशित मिति २७ मंसिर २०७७, शनिबार २३:०९
Loading...