बुन्डेसलिगा : डर्टमुन्डले आफ्नै घरमा भेट्यो नमिठो धुलाइ !

काठमाडौं, मंसिर २७
जर्मन लिग बुन्डेसलिगा फुटबलमा यो सिजन उपाधि होडमा रहेको बोरुसिया डर्टमुन्डले अप्रत्यासित र नमिठो धुलाइ भेटेको छ । शनिबार राति भएको लिगको ११औं साताको खेलमा डर्टमुन्डलाई उसकै घरेलु मैदानमा पाहुना टोली स्टटगार्टले १–५ को बेइज्जीतपूर्ण हारको सिकार बनायो । आफ्ना प्रमुख गोल मेसिन युवा फरवार्ड अर्लिङ हल्यान्ड चोटका कारण टोलीबाहिर रहेका बेला डर्टमुन्ड लगातार खराब नतिजाको सिकार भइरहेको छ ।

घरेलु मैदानमा भएको खेलमा डर्टमुन्डले पहिलो हाफमा १ गोल खाँदा बाँकी ४ गोल दोस्रो हाफमा खायो । खेलको २६औं मिनेटमा स्टटगार्टका लागि सिलासले पेनाल्टीमार्फत् पहिलो गोल गरेका थिए । तर, खेलको ३९औं मिनेटमा डर्टमुन्डका लागि जिओभानी रेयानले गोल गर्दै खेल पहिलो हाफमा १–१ बनाए

दोस्रो हाफमा कहानी अर्कै भयो । जहाँ पाहुना टोली स्टटगार्ट डर्टमुन्डमाथि यति हाबी भयो कि, उसले ४ गोल थप्यो । खेलको ५२औं मिनेटमा पहिलो गोलकर्ता सिलासले नै गोल गर्दै खेल १–२ बनाएका थिए । त्यसपछि खेलको ६०औं मिनेटमा फिलिप फ्रस्टरले गोल गर्दा डर्टमुनड समस्यामा परेको थियो । स्टटगार्ट त्यत्तिमै अडिएन । खेलको ६३औं मिनेटमा टाङ्गाए कोउलीबालीले गोल गरेपछि डर्टमुन्ड १–४ ले पछि परेको थियो ।

फेरि ९० मिनेटपछि थपिएको समयको पहिलो मिनेटमा स्सटगार्टका लागि निकोलास गोन्जालेजले अर्को गोल थपेपछि खेल स्टटगार्टले १–५ ले जित्यो । अब यो हारपछि डर्टमुन्ड ११ खेलपछि अंक तालिकाको पाँचौं स्थानमा झरेको छ । कुनैबेला डर्टमुन्ड शीर्ष स्थानका लागि बार्यन म्युनिखसँग प्रतिस्पर्धा गर्दै थियो । तर, ऊ यतिबेला बिग्रँदो स्थितिमा छ ।

यता, डर्टमुन्डमाथि अप्रत्यासित जित निकालेको स्टटगार्टले समान ११ खेलबाट १७ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा चढेको छ । डर्टमुन्डभन्दा स्टटगार्ट २ अंकले पछि छ । हालको स्थितिमा डर्टमुन्ड लिग लिडर आरबी लेइपजिगभन्दा ५ अंकले पछि परेको छ ।

प्रकाशित मिति २७ मंसिर २०७७, शनिबार २२:१७
Loading...