मड्रिड डर्बीमा एथ्लेटिको हारे हाम्रा लागि धेरै राम्रो : कोम्यान

एजेन्सी, मंसिर २७
स्पेनिस बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले आज राति ला लिगामा हुने सिजनको पहिलो मड्रिड डर्बी खेलबारे धारणा राखेका छन् । बार्सिलोनाले आइतबार लेभान्टेसँग खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा कोम्यानलाई रियल मड्रिड र एथ्लेटिको मड्रिडको खेलबारे प्रश्न सोधिएको थियो ।

सोक्रममा कोम्यानले लिगमा सबै टिमको नतिजाले फरक पार्ने र प्रतिस्पर्धाको दिशा तय गर्ने भन्दै मड्रिड डर्बीमा बार्सिलोनाको चासो रहेको बताए । कोम्यानले त बार्सिलोनाका लागि लिगमा फर्किन आज राति हुने मड्रिड डर्बीमा एथ्लेटिको पराजित भएर रियलले जिते बार्सिलोनाका लागि अंकगणितीय रूपमा सहज हुने बताए ।

‘यो लिग हो । र, लामो लिगमा सबै टोलीका लागि अन्य टोलीको नतिजा पनि महत्त्वपूर्ण हुन्छ । अवश्य पनि, मड्रिड डर्बीको नतिजाप्रति हाम्रो चासो छ । अहिले एथ्लेटिको हामीभन्दा १२ अंकले अघि छ । हाम्रा लागि एथ्लेटिको पराजित हुँदा सबैभन्दा राम्रो नतिजा हुन्छ । बराबरी नतिजा पनि हाम्रा लागि राम्रै हुनेछ,’ कोम्यानले हाँस्दै भने, ‘तर, म एथ्लेटिकोलाई ब्याड लक र रियललाई गुड लक भन्न सक्दिनँ ।’

कोम्यानले ला लिगामा बार्सिलोना सकेसम्म चाँडो उपाधि होडमा फर्किन राम्रो खेल्नुपर्ने बताए । बार्सिलोनाले उत्कृष्ट खेले कुनै टिमले पनि हराउन नसक्ने उनले बताए । ‘यदि हामीले राम्रो खेल्यौं भने हामीलाई कसले पनि हराउन सक्दैन । यो हामीले आफ्नो भर्सन देखाउने समय हो,’ कोम्यानले भने, ‘हामीलाई सकेसम्म चाँडो माथि उक्लिनुपर्छ । त्यसका लागि तत्कालै राम्रा नतिजाहरू हामीलाई आवश्यक पर्छ ।’

ला लिगमा बार्सिलोना हाल १० खेलपछि १४ अंक बनाएर नवौं स्थानमा छ । ताजा स्थितिमा बार्सिलोना लिग लिडर एथ्लेटिको मड्रिडभन्दा १२ अंक र रियल मड्रिडभन्दा ६ अंकले टाढा छ । यदि आज राति हुने मड्रिड डर्बीमा एथ्लेटिको विजयी भए बार्सिलोना १५ अंकले पछि पर्नेछ । रियल विजयी भए ऊ रियलभन्दा ९ र एथ्लेटिकोभन्दा १२ अंकले नै पछि रहनेछ ।

प्रकाशित मिति २७ मंसिर २०७७, शनिबार २१:३८
Loading...