रोनाल्डोसँग अर्थुर मक्ख : यसरी खुलेर गरे प्रशंसा

एजेन्सी, मंसिर २७
इटालियन क्लब युभेन्टसका नयाँ ब्राजिलियन मिडफिल्डर अर्थुरले आफ्ना नयाँ सहकर्मी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । स्पेनिस बार्सिलोनाबाट युभेन्टसमा अनुबन्ध भएपछि पहिलोपटक स्पेनिस मिडिया (मार्सा) सँग कुरा गर्दै उनले रोनाल्डोको निकै शानदार तारिफ गरेका छन् ।

गत समर विन्डोमा बार्सिलोनाबाट अर्थुर ७५ मिलियन युरोमा युभेन्टस जाँदा युभेन्टसबाट ६५ मिलियन युरोमा मिरालेम पियानिच बार्सिलोना गएका थिए । इटालीमा अहिले अर्थुरले आन्ड्रेया पिर्लोको नेतृत्वमा सम्मानजनक स्थान पाइरेका छन् । यता, बार्सिलोनामा पियानिच पनि अपेक्षा गरेअनुसार खेल्न नपाएर सार्वजनिक रूपमै आक्रोश पोखिरहेका छन् ।

अन्तर्वार्तामा अर्थुरले बताएका छन् कि, रोनाल्डोले उनलाई इटाली पुगेदेखि नै निकै राम्रो व्यवहार गर्दै धेरै कुरामा सहयोग गरिरहेका छन् । यतिसम्म कि, रोनाल्डोले अर्थुरलाई फिट रहन के खाने र के नखानेसम्मका सल्लाह दिने गर्छन् । ‘क्रिस्टियानो साँच्चै महान् हुनुहुन्छ । ज्यादै मित्रवत् पनि । म यहाँ आएदेखि नै उहाँले मलाई धेरै कुरामा सहयोग गर्नुभएको छ । यतिसम्म कि, मैले फिट रहन के खानु हुँदैन र के खानुपर्छ भनेर पनि उहाँले मलाई सुझाव दिनुहुन्छ । ऊ सबै सहकर्मीको ख्याल गर्नुहुन्छ । सबैसँग सधैं घुलमिल र संवादमा रहनुहुन्छ,’ अर्थुरले भने ।

अर्थुरले अघि थपे, ‘जब म अन्तर्राष्ट्रिय ड्युटीबाट इटाली फर्किएँ, उहाँले मलाई ब्राजिलमा के–कसो छ, कोरोना महामारीको असर कस्तो छ भनेर सोध्नुभयो । अरू कोही सहकर्मीले मलाई यसरी आजसम्म सोधेका छैनन् टिममेट केही दिनको बिदामा हुँदा पनि उहाँले हामीसँग सन्चो–बिसन्चो सोध्नुहुन्छ । उहाँबाट यस्तो व्यवहारको कल्पना मैले कहिल्यै गरेको थिइनँ ।’

अर्थुरले रोनाल्डो ज्यादै मेहनती खेलाडी रहेको पनि बताए । रोनाल्डो सबैभन्दा चाँडो प्रशिक्षण क्याम्प पुग्ने र सबैभन्दा अन्तिममा हिँड्ने गरेको अर्थुरले बताए । ‘एक दिन हाम्रो खेल ढिलो थियो । र, भोलिपल्ट बिहान हामी ढिला मात्रै ट्रेनिङ सेन्टर पुग्यौं । तर, क्रिस्टियानो २ घन्टाअघि नै त्यहाँ पुगिसक्नुभएको रहेछ । यस्तो कसले गर्न सक्छ ? मात्रै क्रिस्टियानो । उहाँको मेहनतमा पागलपना छ । मलाई लाग्दैन, कसैले उहाँको जस्तो गर्छ वा गर्न सक्छ ।’

रोनाल्डोसँग खेल्दा टिम सधैं ज्यादा सुरक्षित हुने अर्थुरले बताए । आफूले बार्सिलोनामा लिओनल मेस्सीसँग थुप्रै खेले पनि रोनाल्डोसँग अलग्गै अनुभूति हुने उनले बताए । ‘मैले बार्सिलोनामा मेस्सीसँग थुप्रै खेल खेलें । उहाँ ज्यादै प्रतिभाशाली र जिनियस खेलाडी हुनुहुन्छ । तर, क्रिस्टियानोसँग मैले केही खेल मात्रै खेल्दा पनि फरक अनुभूति गर्न पाएँ । उहाँसँग खेल्दा हरेक खेलाडीको मनोबल उच्च हुन्छ । उहाँले खेलमा गोल गर्नुहुन्छ वा गर्नुहुन्न भन्दा पनि उहाँ मैदानमा हुनुहुन्छ भन्दा मात्रै पनि टिमले ज्यादा सुरक्षित अनभूत गर्छ । किनभने, उहाँ टिमलाई सम्हाल्ने खेलाडी हो,’ अर्थुरले भने, ‘क्रिस्टियानोसहित हुँदा र नहुँदा दुवै अवस्थामा मैले यहाँ खेलिसकेको छु । तर, उहाँ टिममा भएको दिन टिमको ऊर्जा र आत्मविश्वासको लेभल नै अर्कै हुन्छ । उहाँ कस्तो खेलाडी हो भन्ने कुरा त उहाँ खेल्दा र नखेल्दाका खेलको नतिजाले पनि बताउँछ ।’

अर्थुरले रोनाल्डोसँग खेलेर आफूले युभेन्टसबाट सबै उपाधि जित्न सक्ने बताए । ‘मलाई विश्वास छ, क्रिस्टियानोसहितका टिमसँग मैले यहाँ सबैखाले उपाधि जित्नेछु । च्याम्पियन्स लिग जित्नु हाम्रो अहिलेको प्रमुख लक्ष्य हो । म यहाँ सबै उपाधि जित्न चाहन्छु ।’

अर्थुरले प्रशिक्षक पिर्लोले आफूलाई धेरै कुरामा सहयोग गरिरहेको भन्दै खुसी व्यक्त गरे । ‘अहिले म यहाँ एकदमै खुसी छु । मैले लगातार खेलिरहेको छु । र, टिमलाई सघाइरहेको छु । प्रशिक्षकले बोलाएका खेलमा मैले आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेको छु । यदि मैले गल्ती गरें वा केही सुधार गर्नुपर्छ पनि उहाँ (पिर्लो) मलाई स्पष्ट भन्नुहुन्छ । र, आवश्यकताअनुसार उहाँले मलाई मौका दिइराख्नुभएको छ । उहाँले मलाई हौसला दिइराख्नुहुन्छ । म उहाँबाट धेरै कुरा सिकिरहेको छु,’ अर्थुरले भने ।

प्रकाशित मिति २७ मंसिर २०७७, शनिबार १९:१९
Loading...