ला लिगामा आज मड्रिड डर्बी : एथ्लेटिको र रियलको महाभिडन्त हुँदै

काठमाडौं, मंसिर २७
स्पेनिस ला लिगा फुटबलमा आज नयाँ सिजन २०२०–२१ अन्तर्गत सिजनको पहिलो मड्रिड डर्बी भिडन्त हुँदैछ । मड्रिड सहरका दुई बलिया र चीर प्रतिद्वन्द्वी रियल मड्रिड र एथ्लेटिको मड्रिड आज राति आमनेसामने हुँदैछन् । यो खेल रियल मड्रिडको घरेलु मैदान स्टाडियो अल्फ्रेडो डि स्टेफानो रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा एथ्लेटिको १० खेलपछि २६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एक खेल बढी खेलेको रियल २१ अंकसहित चौथो स्थानमा छ । एक खेल बढी खेलेको अवस्थामा पनि जिनेदिन जिदानको टोली हाल लिग लिडर एथ्लेटिको भन्दा ६ अंकले पछि परेको छ ।

आज आफ्नो घरमा उत्रिँदा रियल चर्को दबाबमा हुनेछ । यो सिजन कमजोर सुरुआत गरेको उसलाई लिगमा कमब्याक गर्न र लिग लिडरसँगको अंक दूरी घटाउन एथ्लेटिकोसँगको खेल ज्यादै महत्त्वपूर्ण हुनेछ । आज रियल हरहालतमा एथ्लेटिकोविरुद्ध जित निकाल्ने दाउमा छ । यदि आफ्नो घरमा यो खेल जिते रियलले एथ्लेटिकोसँगको अंक दूरी ३ मा झार्नेछ । तर, पराजित भए १ खेल बढी खेलेर पनि ऊ ९ अंकले पछि पर्नेछ ।

आज रियलको टोलीमा सबैजसो खेलाडी उपलब्ध छन् । कप्तान सर्जियो रामोस यसअघि नै टोलीमा फर्किसकेका छन् भने इडेन हाजार्ड पनि चोटमुक्त भएर प्रशिक्षणमा फर्किएका छन् । त्यसैगरी, कासेमिरो कोरोनामुक्त भएका छन् भने फेडे भाल्भर्डे र ओड्रिओजोला चोटमुक्त हुँदै टोलीमा फर्किएका छन् ।

प्रकाशित मिति २७ मंसिर २०७७, शनिबार १२:१२
Loading...