‘फिफा वर्ष खेलाडी’ अवार्डका लागि टप–३ घोषणा

एजेन्सी, मंसिर २६
वर्ष २०२० मा पुरुष फुटबलतर्फ दिइने फिफा वर्ष खेलाडीका लागि शीर्ष तीन खेलाडीको मनोनयन घोषणा भएको छ । आज विश्व फुटबलको सर्वोच्च संस्था फिफाले ३ जना खेलाडीलाई समेटेर टप–३ सूची घोषणा गरेको हो । अब टप–३ बाट फिफा द बेस्ट घोषणा गरिनेछ । यसअघि टप–११ मनोनयन सार्वजनिक भएको थियो ।

फिफाले घोषणा गरेको अन्तिम मनोनयनमा जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका रोवर्ट लेवान्डोस्की, इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी परेका छन् ।

यसपटक यो अवार्डका लागि पोल्यान्डका लेवान्डोस्कीलाई प्रमुख दाबेदार मानिएको छ । यसअघि उनले युइएफए बेस्ट प्लेयरको अवार्ड पनि जितिसकेका छन् । ३१ वर्षीय लेवान्डोस्कीले करिअरमा पहिलोपटक यो अवार्ड जित्न औपचारिकता मात्रै बाँकी छ । टप–३ मा रोनाल्डो र मेस्सी पर्दा फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन नेइमार भने परेनन् । यो अवार्ड डिसेम्बर १७ तारिखमा प्रदान गरिनेछ ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार २२:०४
Loading...