‘स्वारेज आफूसँग रिसाएपछि’ प्रशिक्षक सिमोनीले दिए जवाफ

एजेन्सी, मंसिर २६
स्पेनिस क्लब एथ्लेटिको मड्रिडका प्रमुख खेलाडी लुइस स्वारेज प्रशिक्षक डिएगो सिमोनीसँग रिसाएका छन् । अघिल्लो दिन च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा अस्ट्रियन क्लब रेड बुल साल्जवर्गसँगको खेल दौरान चाँडै सब्सिचयुट हुनुपर्दा उरुग्वेन फरवार्डले आफ्नो रिस थाम्न सकेनन् ।

अन्तिम १६ मा जान निर्णायक खेलमा स्वारेजले सुरुआतबाटै खेलेका थिए । तर, अर्जेन्टिनी कोच सिमोनीले उनलाई खेलको ६४औं मिनेटमा परिवर्तन गरे । स्वारेजले प्रभाव नजमाएपछि सिमोनीले उनलाई निकालेका थिए । स्वारेज हालसालै कोरोना भाइरसको संक्रमणबाट मुक्त आएकाले उनले सो खेलमा गतिलो प्रदर्शन गर्न सकेनन् ।

टिम ०–१ ले अगाडि रहेका बेला सिमोनीले स्वोजलाई निकालेर एन्जल कोरेरयालाई छिराएका थिए । अन्तिम १६ मा जान एथ्लेटिकोलाई सो खेलमा अनिवार्य जित आवश्यक थियो । नतिजामा जोखिम मोल्न नचाएका सिमोनी दोस्रो गोलको खोजीमा स्वारेजलाई निकालेका थिए । तर, सब्सिच्युट हुँदै गर्दा स्वारेजले रिसाउँदै मैदान छाडेनन् मात्रै, बेन्चमा गएर पनि देखिने गरी सिमोनीको निर्णयप्रति आक्रोश पोखे ।

खेलपछि सिमोनीले स्वारेज रिसाएको सम्बन्धमा जवाफ दिए । उनले प्रमुख खेलाडीले सधैं ९० मिनेट नै खेल्न चाहने भन्दै स्वारेजको रिस सामान्य रहेको बताएका थिए । उनले स्वारेजको आक्रोशपूर्ण व्यवहारप्रति कुनै खेद व्यक्त गरेनन् । ‘उनीजस्ता खेलाडी सधैं ९० मिनेट खेल्न चाहन्छन् । यस्ता खेलमा चाँडै मैदान छाड्दा जो कोही रिसाउँछ । स्वारेजको रिस स्वभाविक छ,’ सिमोनीले भने, ‘उनको ठाउँमा थिएँ भने म पनि रिसाउँथे । मलाई उनीप्रति कुनै समस्या छैन । यी कुरा आफैं मिल्छन् ।’

एथ्लेटिकोले सो खेलमा साल्जवर्गलाई उसकै घरमा ०–२ ले हराउँदै समूहको उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ । सो खेलमा एथ्लेटिकोका लागि मारियो हेर्मोसो र यानिक कारास्कोले १–१ गोल गरेका थिए ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार २१:३६
Loading...