रोनाल्डोकी दिदीले यसरी उडाइन् मेस्सीको ‘मजाक’ …..

एजेन्सी, मंसिर २६
इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोकी दिदीले स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीको मजाक उडाएकी छन् । उनले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् एक तस्बिर पोस्ट गर्दै आफ्ना दाजुका खास प्रतिस्पर्धी खेलाडीप्रति अपमानजनक व्यवहार देखाएकी छन् ।

गत मंगलबार राति च्याम्पियन्स लिगको खेलमा रोनाल्डोको टिम युभेन्टस र मेस्सीको टिम बार्सिलोना क्याम्प नोउमा भिडेका थिए । सो खेलमा युभेन्टसले मेस्सीको टिम बार्सिलोनालाई उसकै घरेलु मैदानमा ०–३ ले हराएको थियो । जहाँ रोनाल्डोले २ पेनाल्टी गोल गरेका थिए । मेस्सीले सो खेलमा व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गरे पनि गोल गर्न सकेनन् । २ वर्ष ७ महिनापछि मेस्सीको टोलीसँग भिड्दा रोनाल्डोले जितेनन् मात्रै, मेस्सीकै घरेलु मैदानमा २ गोलसमेत गरे ।

तर, सो खेलपछि रोनाल्डोकी ४७ वर्षीया दिदी इल्मा एभेइरोले ‘मेस्सी आफ्ना भाइका अगाडि क्याम्प नोउमा निरीह बनेको’ आशयको तस्बिर पोस्ट गरेकी छन् । मेस्सीले घुँडा टेकेर भगवान्प्रति प्रार्थना गरेजस्तो रोनाल्डोप्रति प्रार्थना गरिरहेको तस्बिर इल्माले पोस्ट गरेकी छन् । सो तस्बिर फोटोसपबाट इडिट गरिएको हो । जहाँ रोनाल्डोले क्याम्प नोउमा गोल गरेपछि सेलिब्रेसन गरिरहँदा मेस्सीले भुइँमा घुँडा टेकेर प्रार्थना गरिरहेको देखाउन खोजिएको छ ।

रोनाल्डोकी दिदीले यस्तो पोस्ट गरेपछि मेस्सीका समर्थकहरू उनीमाथि खनिएका छन् । थुप्रै फ्यानले रोनाल्डोकी दिदीलाई गालीगलौज गरेका छन् । यता, बार्सिलोनालाई युभेन्टसले हराएपछि रोनाल्डो स्वयंले भने मेस्सीबारे बोल्दै तारिफयोग्य भनाइ राखेका थिए । उनले मेस्सीको प्रशंसा गर्दै मेस्सीसँग आफूले सधैं सम्मानजनक र राम्रो व्यवहार गरेको बताउँदै मेस्सीसँग १५ वर्षसम्म एकअर्काविद्ध खेल्नु अवसर रहेको बताएका थिए ।

अघिल्लो महिना बार्सिलोनाले युभेन्टसलाई उसकै घरमा ०–२ ले हराउँदा क्लब बार्सिलोनाले युभेन्टस र रोनाल्डोको अपमान हुने गरी क्लबको अफिसियल ट्वीटर ह्यान्डलबाट ट्वीट गरेको थियो, जसको धेरै आलोचना पनि भयो । सम्वतः रोनालडोकी दिदीले यसपटक त्यसैको रिस फेरेको हुन सक्छ । तर, यी दुवै हर्कतको आलोचना भएको छ ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार २०:४९
Loading...