मानिसले सोचेजस्तो मेस्सी मेरा दुश्मन होइनन्, न प्रतिस्पर्धी : रोनाल्डो

काठमाडौं, मंसिर २६
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्ना खास प्रतिस्पर्धी स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी आफ्नो दुश्मन नरहेको बताएका छन् । दुई दिनअघि युभेन्टसले मेस्सीसहितको बार्सिलोनालाई उसकै घरेलु मैदानमा ०
३ ले हराएपछि मिडियासँग कुरा गर्दै रोनाल्डोले मेस्सीसँगको सम्बन्धबारे बोले । सो खेलमा रोनाल्डोले २ गोल गरेका थिए ।

सोक्रममा पोर्चुगिज रोनाल्डोले अर्जेन्टिनी मेस्सीलाई आफूले कहिल्यै पनि प्रतिस्पर्धीका रूपमा नहेरेको बताउँदै उनीसँग आफूले सधैं सम्मानजनक सम्बन्ध राखेको र त्यसैअनुसार व्यवहार गरेको बताएका छन् । बाहिर मिडिया र समर्थकहरू–आलोचकहरूले सोचेजस्तो मेस्सी आफ्नो दुश्मन नरहेको रोनाल्डोले बताए ।

‘बाहिर मानिस (मिडिया–आलोचक) ले के–के बताउँछन्, मलाई थाहा छैन । तर, मेस्सी मेरो दुश्मन हैनन् । न त उनलाई मैले प्रतिस्पर्धीका रूपमा हेरेको छु,’ रोनाल्डोले भनेका छन्, ‘मेस्सीसँग मैले सधैं सम्मानजनक व्यवहार गरे । उनीसँग मेरो सम्बनध राम्रो छ ।’

रोनाल्डोले मेस्सीसँग आफूले करिब १४ वर्ष अवार्ड समारोह सेयर गरेको बताउँदै आफूहरूले एकअर्कालाई राम्रोसँग बुझेको बताए । ‘मैले मेस्सीसँग १२, १३ वा १४ वर्ष अवार्ड समारोह सेयर गरेको छु । हामीले एकअर्कालाई राम्रोसँग जानेका छौं । मलाई लागछ, हामीले एकअर्काविरुद्ध खेल्नु एक सुखद् अवसर यो । यसलाई समर्थकहरूले सधैं महत्त्व दिन्छन्,’ रोनाल्डोले भने, ‘बाँकी त मैले आफ्नो टिमका लागि राम्रो गर्न ध्यान दिन्छु, मेस्सीले पनि यही गर्छन् ।’

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार १९:५०
Loading...