च्याम्पियन्स लिगमा मेस्सीविरुद्ध ४२ वर्षीय बुफोनको दुर्लभ रेकर्ड

एजेन्सी, मंसिर २६
इटालियन क्लब युभेन्टसका भेट्रान गोलकिपर जियानलुइजी बुफोनले युरोपियन च्याम्पियन्स लिग फुटबल र व्यक्तिगत रूपमा स्पेनिस क्लब बार्सिलोनका सुपरस्टार लिओनल मेस्सीविरुद्ध दुर्लभ रेकर्ड बनाएका छन् । गत मंगलबार समूह चरणको अन्तिम खेलमा बार्सिलोना र युभेन्टसको खेल दौरान बुफोनले उत्कृष्ट प्रदर्शनका साथ क्लिन सिट राख्न सफल भएका थिए ।

युभेन्टसले सो खेलमा मेस्सीसहितको बार्सिलोनालाई उसकै घरेलु मैदानमा ०–३ ले हराएको थियो । सो खेलमा युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले २ पेनाल्टी गोल गर्दा १ गोल वेस्टन म्याकेनीले गरेका थिए । आफ्नै घरमा बार्सिलोना गोलविहीन बन्दा बुफोन क्याटलान क्लबविरुद्ध पहाड बनेर उभिएका थिए । सो खेल सकिएपछि बुफोन र मेस्सीले प्रेमपूर्वक आफूले लगाएको जर्सी साटासाट गरेका थिए ।

सो खेलपछि उमेरले ४२ वर्ष पुगेका बुफोन अब च्याम्पियन्स लिगको इतिहासमै सबैभन्दा बढी उमेरमा ‘क्लिन सिट’ राख्ने गोल किपर बनेका छन् । यस प्रतियोगितामा ४० वर्षभन्दा बढी उमेरका कुनै पनि गोलकिपरले क्लिन सिट राखेको इतिहास छैन । तर, ४२ वर्षका इटालियन गोलकिपरले यसपटक त्यो गरेर धेरैलाई चकित पारे ।

यति मात्रै हैन, बुफोनले सोही खेलबाट ६ पटकका बालोन डि‘ओर विजेता अर्जेन्टिनी फरवार्ड मेस्सीविरुद्ध व्यत्तिगत रूपमा पनि रेकर्ड बनाएका छन् । क्याम्प नोउमा खेल्दा बुफोनले बार्सिलोनाका कूल ७ प्रहार बचाउ गरेका थिए । र, ती सबै प्रहार मेस्सीले मात्रै गरेका थिए । सो खेलमा मेस्सीबाहेक बार्सिलोनाका अन्य कुनै खेलाडीले एकपटक पनि अन टार्गेट सट प्रहार गर्न सकेनन् ।

एकै खेलमा मेस्सीका ७ प्रहार रोकेपछि बुफोनका नाममा मेस्सीविरुद्ध रेकर्ड बनेको हो । मेस्सीले यस प्रतियोगितामा करिअरमै पहिलोपटक ७ पटक अन टार्गेट हानेर पनि गोल गर्न नसकेको यो नै पहिलोपटक हो । यसरी विश्वकै एक उत्कृष्ट खेलाडीको करिअरमा एक खराब रेकर्ड कायम गराउन मेस्सीका लागि ४२ वर्षीय गोलकिपर बुफोन ‘भिलेन’ बने । स्मरण रहोस्, आफ्नो यति लामो करिअर दौरान यसअघि बुफोनले कहिल्यै पनि एकै खेलमा कुनै पनि एक खेलाडीका ७ प्रहार बचाएर खेलमा क्लिन सिट राखेका थिएनन् ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार १७:५७
Loading...