च्याम्पियन्स लिगमा नेइमारले बनाए दुर्लभ रेकर्ड

काठमाडौं, मंसिर २६
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन फरवार्ड नेइमारले युरोपियन च्याम्पियन्स लिग फुटबलमा एक दुर्लभ रेकर्ड बनाएका छन् । नेइमार अब यस प्रतियोगिताको इतिहासमै दुई फरक–फरक क्लबबाट २० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

मंगलबार च्याम्पियन्स लिगको समूह चरणमा पिएसजीले टर्किस क्लब इस्तानबुल बासाकसेहिरलाई घरेलु मैदानमा ५–१ ले हराएको थियो । सो खेलमा नेइमारले शानदार प्रदर्शन गर्दै ह्याट्रिक गरेका थिए । सो खेलको ३ गोलपछि नेइमारले पिएसजीका लागि यस प्रतियोगितामा २० गोलको कोसेढुंगा पूरा गरे ।

अब नेइमारले पूर्वक्लब स्पेनिस बार्सिलोना र पिएसजी दुवै क्लबका यस प्रतियोगितामा २० गोल पूरा गरेका हुन् । नेइमारले सन् २०१३ देखि २०१७ सम्म बार्सिलोनामा खेल्नेक्रममा ४० खेलबाट २१ गोल गरेका थिए । यता, पिएसजीका उनले मात्रै २५ खेल खेल्दै २० गोल गरे ।

यसअघि कुनै पनि खेलाडीले यस प्रतियोगितामा दुई फरक–फरक क्लबबाट २०–२० गोल गरेका थिएनन् । अब सो रेकर्ड नेइमारका नाममा रहनेछ । नेइमारले हालसम्म यस प्रतियोगितामा ९१ खेलबाट ५६ गोल गरेका थिए ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार १४:४७
Loading...