अन्तिम १६ को ‘सबैभन्दा कठिन’ ड्र बार्सिलोनालाई पर्ने : यी हुन् सम्भावित टिमहरू

एजेन्सी, मंसिर २६
युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनालाई यसपटक अन्तिम १६ मा सबैभन्दा कठिन ड्र पर्ने पक्का भएको छ । अन्तिम १६ को समकीकरण पूरा हुँदा बार्सिलोनाको सम्भावित प्रतिस्पर्धी पहिचान भएको हो । ड्र हुने फर्म्याट र नियमअनुसार बार्सिलोनालाई अन्तिम १६ मा युरोपका हेभिवेट टोलीमध्ये कुनै एक पर्नेछ ।

सम्भवतः लिओनल मेस्सीको टिम बार्सिलोनालाई अन्तिम १६ राउन्डकै सबैभन्दा कठिन प्रतिस्पर्धी हुनेछ । बार्सिलोना आफ्नो समूहबाट उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गर्दा उसले अन्य कुनै पनि टिमको विजेता टोलीमध्ये एक प्रतिस्पर्धी पाउनेछ । तर, अवस्था यस्तो परेको छ कि– समूह विजेताहरूको पटमा अधिकांश ठूला टोलीहरू छन् । यदि बार्सिलोना समूह विजेता बन्न सकेको भए उसले अन्तिम १६ मा केही सहज प्रतिस्पर्धी पाउने थियो ।

तर, अन्तिम खेलमा बार्सिलोना युभेन्टससँग आफ्नै घरमा ०–३ ले हारेपछि बार्सिलोना उपविजेतामै सीमित भएको थियो । जसका कारण बार्सिलोनाले अब अन्तिम १६ मा कुनै कडा प्रतिस्पर्धीको सामना गर्नुपर्नेछ । ड्र को नियमअनुसार समूह विजेता र उपविजेतालाई फरक–फरक पटमा राखिन्छ । यसो गर्दा बार्सिलोनाले स्पेनको क्लब रियल मड्रिडबाहेक अन्य कुनै पनि समूह विजेता टोलीको सामना गर्नुपर्नेछ ।

जसमा बार्सिलोनाले अन्तिम १६ मा इंग्लिस क्लब लिभरपुल, चेल्सी, म्यानचेस्टर सिटी, जर्मन क्लब बार्यन म्युनिख, बोरुसिया डर्टमुन्ड र फ्रेन्च क्लब पिएसजीमध्ये कुनै एक टोली प्रतिस्पर्धा पाउनेछ । यीमध्ये चेल्सी र डर्टमुन्ड बार्सिलोनाका लागि तुलनात्मक रूपमा केही सहज प्रतिस्पर्धी हुन सक्लान् । तर, बार्यन, सिटी, पिएसजी र लिभरपुलमध्ये कुनै एक टिम परे बार्सिलोनाका लागि अन्तिम १६ बाट अघि बढ्नै ‘फलामको चिउरा चपाउनु’सरह हुनेछ ।

यदि लिओनल मेस्सी आफ्नो उत्कृष्ट लयमा हुनु र बार्सिलोना सिंगो टिम लयमा हुनु हो भने यी सबै टिमसँग बार्सिलोनाले निर्वाद प्रतिस्पर्धा गर्न सक्छ । तर, यो सिजन बार्सिलोना निकै खराब खेलिरहेको छ । न त मेस्सी नै लयमा छन् । यता, बार्सिलोनाको रक्षापंक्ति इतिहासकै सबैभन्दा खराब हालतमा आइपुगेको छ । यस्तो स्थितिमा युरोपकै बेस्ट अट्याकिङ टोलीहरू सिटी, पिएसजी, लिभरपुल, बार्यनजस्ता टोलीसँग खेल्नु परे बार्सिलोनाको यात्रा अन्तिम १६ बाटै आउट हुने सम्भावना प्रबल छ । किनभने, बार्सिलोना गत सिजन मात्रै बार्यनसँग ८–२ र त्यसअघि सेमिफाइनलमा लिभरपुलसँग ४–० हारिसकेको छ ।

त्यसो त बार्सिलोनाका लागि डर्टमुन्ड र चेल्सी पनि सजिला प्रतिस्पर्धी हुनेछैनन् । यो सिजन युवा खेलाडीले भरिभराउ यी दुवै टोलीले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसमा पनि डर्टमुन्ड अहिले नयाँ वेगमा छ । चेल्सीले निकै मजबुतसँग टिम तयार पारेको छ । ठीक यता, बार्सिलोना भने लगातार ओरालो लाग्दो छ । अन्तिम १६ को ड्र आगामी सोमबार हुनेछ ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार ११:२६
Loading...