हाजार्ड फर्किए प्रशिक्षणमा : तर कति दिनलाई ?

एजेन्सी, मंसिर २६
स्पेनिस क्लब रियल मड्रिडका प्रमुख खेलाडी इडेन हाजार्ड चोटमुक्त भएर प्रशिक्षणमा फर्किएका छन् । पटक–पटक घाइते हुँदै आएका बेल्जियन स्टारले हिजो (शुक्रबार) देखि समूहमा प्रशिक्षण थालेका छन् । हाजार्डले अन्य सहकर्मीसँगै प्रशिक्षण गरिरहेको तस्बिर रियलले सामाजिक सन्जालमार्फत् सार्वजनिक गरेको छ ।

हाजार्ड पछिल्लोपटक नोभेम्बर २९ तारिखमा ला लिगाअन्तर्गत घरेलु मैदानमा अलाभेससँगको खेलक्रममा घाइते भएका थिए । सो खेलमा हाजार्डले चोट बोकेर खेलको २८औं मिनेटमै मैदान छाडेका थिए । त्यसपछि उनले ३ खेल गुमाए । हाजार्डबिनाको रियल च्याम्पियन्स लिगमा युक्रेनको क्लब शाख्तर डोनेट्स्कसँग २–० ले हार्दा त्यसपछि ला लिगामा रियलले सेभिल्लालई उसकै घरमा ०–१ ले हराएको थियो ।

तर, हाजार्डसहितका प्रमुख खेलाडीबिनाको रियलले च्याम्पियन्स लिगमा समूह चरणको अन्तिम खेलमा संकटपूर्ण अवस्थामा जर्मन क्लब मोन्चेङ्लाडवाचलाई घरेलु मैदानमा २–० ले जित्दै अन्तिम १६ मा स्थान बनाइसकेको छ । रियलको ध्यान अब ला लिगामा केन्द्रित हुने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् ।

रियलले शनिबार राति ला लिगामा सिजनको पहिलो मड्रिड डर्बीमा एथ्लेटिको मड्रिडसँग खेल्दै छ । रियलको घरेलु मैदानमा हुने सो खेलमा हाजार्ड पनि मैदान फर्किनेछन् । तर, पटक–पटक चोट बोक्दै आएका हाजार्ड कति दिनसम्म मैदानमा रहन्छन् वा चोट नबोकी रहन सक्छन्, रियलका लागि त्यो चासोको विषय छ । हाजार्डको पटक–पटकको चोटबाट रियल निकै आजित हुँदै आएको छ । जारी सिजन हाजार्डले जम्मा ६ खेल खेल्दै २ गोल गरेका छन् ।

यता, हाजार्डसँगै रियलका अन्य खेलाडी पनि चोटग्रस्त भएका छन् । प्रमुख अट्याकिङ मिडफिल्डर फेडे भाल्भर्डे र डिफेन्डर ओड्रिओजोला पनि एकसाथ चोटमुक्त हुँदै टोलीमा फर्किएा छन् । उरुग्वेन खेलाडी भाल्भर्डेको पुनरागमनले रियललाई ठूलो राहत मिल्ने पक्का छ । यसअघि नै कप्तान सर्जियो रामोस पनि चोटमुक्त हुँदै अघिल्लो खेलबाटै मैदान फर्किसकेका छन् ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार १०:३६
Loading...