२०२२ को विश्वकपका लागि कतारले पोर्चुगल रहेको समूहमा खेल्ने

एजेन्सी, मंसिर २६
सन् २०२२ को फिफा विश्वकप फुटबलका लागि छनौट खेलअन्तर्गत आयोजक देश कतारले युरोपियन क्षेत्रबाट सहभागिता जनाउने भएको छ । कतारले युरोपियन क्षेत्रको छनौटअन्तर्गत समूह ‘ए’ मा पाहुना टोलीका रूपमा खेल्ने युइएफएले बताएको छ । आयोजक देशका हैसियतले कतारले सोझै विश्वकपमा प्रवेश पाइसकेको छ ।

युइएफले कतारलाई छनौट खेलअन्तर्गत युरोपियन छनौट प्रक्रियामा सामेल गराएको हो । युइएफएले कतारलाई ठूला खेलमा अनभुव संगाल्न सहज होस् भन्नका लागि समूह ‘ए’ मा पाहुना टोली बनाएर सहभागी हुन प्रस्ताव गरेको कतारको फुटबल संघले पनि पुष्टि गरेको छ । कतारले युइएफएलाई यसका लागि धन्यवादसमेत दिएको छ ।

तर, कतारविरुद्धको हार–जितको अंक कुनै पनि टोलीका लागि गणना हुनेछैन । खेलाडीको गोल संख्यालाई भने अफिसियल गोलकै मान्यता दिइनेछ । कतारले सबै टोलीसँग अनुभवका लागि मात्रै खेल्ने छ । छनौटमा होम एन्ड अवे खेल हुनेछन् । तर, कतारले भने सबै खेल युरोपमै खेल्नेछ ।

यस्तो भएको यो नै पहिलोपटक हैन । विगतमा पनि विश्वकप आयोजक देशलाई तयारी र अनभुवका लागि भन्दै यसरी पाहुना टोली बनाएर विभिन्न प्रतियोगितामा सामेल गराइँथ्योे । यसपटक त्यो अवसर कतारले पाएको हो । कतार एसियाली च्याम्पियन टोली हो ।

कतारले पाहुना टोलीका रूपमा खेल्ने छनौटको समूह ‘ए’ मा पोर्चुगल, सर्बिया, रिपब्लिक अफ् आयरल्यान्ड, लक्जेमवर्ग र अजरबैजान रहेका छन् । अब सो समूहमा कतार थपिएपछि ६ टोली भएका छन् ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार ०८:४१
Loading...