च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेपछि जिदानको यस्तो बोली

एजेन्सी, मंसिर २६
स्पेनिस क्लब रियल मड्रिड गत राति कठिन अवस्थाबाट च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्यो । अन्तिम खेलमा जर्मन क्लब मोन्चेङ्लाडवाचलाई घरेलु मैदानमा २–० ले हराएर रियल समूह विजेता बन्दै नकआउटमा पुग्यो । रियललाई अर्को चरण जान सो जित नै एक मात्रै विकल्प थियो । यदि पराजित भएको भए रियल इतिहासमै पहिलोपटक समूह चरणबाटै बाहिरिने थियो ।

कठिन स्थितिबाट रियल अन्तिम १६ मा पुगेपछि प्रमुख प्रशिक्षक जिनेदिन जिदानले आगामी यात्राबारे धारणा राखेका छन् । खेलपछि प्रतिक्रिया दिँदै फ्रेन्च कोचले रियल प्रतियोगितामा रहँदासम्म सधैं च्याम्पियन बन्न प्रमुख दाबेदार हुने बताए । ‘यदि हामी आज पराजित भएर नकआउटमा पुग्न सकेका थिएनौं भने त्यो अर्कै कहानी हुनेथियो । तर, हामीले आवश्यक परेका बेला नतिजा निकाल्यौं । र, अन्तिम १६ मा गयौं,’ जिदानले भने, ‘रियल अब उपाधि होडमा छ । जबसम्म हामी प्रतियोगितामा रहन्छौं, च्याम्पियन बन्न प्रमुख दाबेदार हौं ।’

जिदानले आगामी दिनमा रियलले सुधार गर्ने र उच्च प्रदर्शन दिने बताए । ‘मलाई थाहा छ, यहाँसम्म आइपुग्दा हामीले केही कठिनाइ भोग्यौं । तर, खेलमा यस्तो समय आइरहन्छ । हामी अबका दिनमा सुधार गर्नेछौं र अगाडि बढ्नेछौं । हामी रियल मड्रिड हौं । सम्भावनाको अन्तिम विन्दा छँदासम्म हामी लडिरहन्छौं,’ जिदानले भने ।

जिदानले अब आफूहरूको ध्यान ला लिगामा केन्द्रित हुने पनि बताए । ‘केही समयका लागि च्याम्पियन्स लिगको तनाव अब छैन । हामी भोलिबाटै ला लिगामा केन्द्रित हुनेछौं । हामी चाँडै शीर्ष स्थानमा फर्किनेछौं,’ जिदानले भने ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार ११:४८
Loading...