काठमाडौं, मंसिर २५
युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजनअन्तर्गत अन्तिम १६ को समीकरण पूरा भएको छ । गत राति समूह चरणका अन्तिम ९ खेल भएपछि अन्तिम १६ मा पुग्ने १६ वटै टोलीको टुंगो लागेको हो । समूह चरणका ३२ टोलीमध्ये १६ टिमले अन्तिम १६ मा स्थान पाउँदा ८ टोलीले युरोपा लिगको समूह चरणमा स्थान पाए । ८ टोली भने यी दुवै प्रतियोगिताभन्दा बाहिर भए ।
यी हुन् अन्तिम १६ मा पुग्ने टिम
समूह ए – बार्यन म्युनिख (विजेता), एथलेटिको मड्रिड (उपविजेता)
समूह बी – रियल मड्रिड (विजेता), मोन्चेङ्लाडवाच (उपविजेता)
समूह सी – म्यानचेस्टर सिटी (विजेता), पोर्टो (उपविजेता)
समूह डी – लिभरपुल (विजेता) एटलान्टा (उपविजेता)
समूह ई – चेल्सी (विजेता), सेभिल्ला (उपविजेता)
समूह एफ – बोरुसिया डर्टमुन्ड (विजेता), लाजियो (उपविजेता)
समूह जी – युभेन्टस (विजेता), बार्सिलोना (उपविजेता)
समूह एच – पिएसजी (विजेता), आरबी लेइपजिग (उपविजेता)
ड्र कहिले हुन्छ ?
अन्तिम १६ को ड्र डिसेम्बर १४ तारिख सोमबार हुनेछ । ड्र स्वीट्जरल्यान्डको नियोन सहरस्थित युइएफएको केन्द्रीय कार्यालयमा हुनेछ । कोरोना भाइरस महामारीका कारण ड्र भिडियोमार्फत् हुनेछ । अर्थात्, क्लबका प्रशिक्षक र अधिकारीले ड्र समारोहमा भिडियोमार्फत् सहभागिता जनाउनेछन् । ड्र नेपाली समयअनुसार अपराह्न ४ः४५ बजेबाट सुरु हुनेछ ।
कसरी हुन्छ ड्र ?
– अन्तिम १६ पुगेका टोलीलाई दुई पटमा विभाजन गरिनेछ । र, दुई पटबीच ड्र गराइनेछ । जहाँ एउटा पटमा समूह विजेता र अर्को पटमा उपविजेतालाई अलग–अलग बनाएर राखिनेछ ।
– ड्र गर्ने नियमअनुसार अन्तिम १६ मा आफ्नो समूहको विजेता टिमले अन्य कुनै पनि समूहको उपविजेता टोली प्रतिस्पर्धी पाउनेछ । त्यसैगरी, आफ्नो समूहको उपविजेता टिमले अन्ये कुनै पनि समूहको विजेता टोली प्रतिस्पर्धी पाउनेछ ।
– ड्रको नियमअनुसार समूह चरणमा एकै समूहमा रहेका टिमले अन्तिम १६ मा एकअर्काबीच खेल्नुपर्ने छैन ।
– त्यसैगरी, एकै देशका दुई क्लबले अन्तिम १६ मा एकअर्काविरुद्ध खेल्नुपर्दैन । त्यसैअनुसार ड्र मिलाइनेछ । जस्तै, रियल मड्रिड समूह विजेता र बार्सिलोना उपविजेता भए पनि यी दुई टोली अन्तिम १६ मा खेल्नुपर्दैन । किनभने, यिनीहरू दुवै स्पेनका टोली हुन् ।
– ड्रअनुसार पट १ मा पर्ने सबै टिमले अन्तिम १६ अन्तर्गत दोस्रो लेगका खेल आफ्नो घरमा र पट २ मा पर्ने सबै टिमले पहिलो लेग आ–आफ्नो घरमा आयोजना गर्नेछन् ।
ड्र को लाइभ कसरी हेर्ने ?
अन्तिम १६ को ड्र कार्यक्रम युइएफएको अफिसियल वेबसाइटमार्फत् लाइभ हेर्न सकिनेछ । नेपालमा सोनी टेन टु एचडीबाट लाइभ हुनेछ ।
अन्तिम १६ का खेल कहिले ?
अन्तिम १६ मा यसपटक होम उन्ड अवे गरी दुवै लेग हुनेछन् । गत सिजन कोरोना भाइरसका कारण समय अभाव हुँदा अन्तिम आठदेखि सिंगल लेग मात्रै खेलाइएको थियो । तर, यसपटक सबै चरणका खेल दुवै लेगमा हुनेछन् । युइएफएको तालिकाअनुसार यसपटक अन्तिम १६ मा पहिलो लेगका खेल २०२१ को फेब्रुअरी महिनाको १६, १७ तथा २३ र २४ ताखिमा हुनेछन् । त्यसैगरी, दोस्रो लेगका खेलहरू २०२१ को मार्च ९ र १० तथा १६ र १७ तारिखमा हुनेछन् ।
प्रकाशित मिति २५ मंसिर २०७७, बिहीबार १६:४३