युभेन्टससँग ०–३ को हारपछि बार्सिलोनाको इतिहासमै बने यस्ता तीन खराब रेकर्डहरू

काठमाडौं, मंसिर २५
दुई दिनअघि च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना समूह चरणको अन्तिम खेलमा इटालियन टोली युभेन्टससँग आफ्नै घरेलु मैदानमा ०–३ ले पराजित भयो । लिआनेल मेस्सीसहितको बार्सिलोनालाई क्याम्प नोउ रंगशालामा क्रिस्टियानो रोनाल्डोसहितको पाहुना टोली युभेन्टसले नमिठो हार चखायो । सो खेलपछि युभेन्टस आफ्नो समूहको विजेता बनेर अन्तिम १६ मा पुग्दा बार्सिलोना उपविजेता मात्रै बन्यो ।

आफ्नै घरेलु मैदानमा आफू गोलविहीन बन्दै ३ गोल खाएर हार्दा क्याटलान क्लबका नाममा केही खराब रेकर्ड बनेका छन् । र, यी रेकर्ड क्लब बार्सिलोनाको इतिहासमै खराब रेकर्ड हुन् । यहाँ ती रेकर्डबारे चर्चा गरिएको छ ।

क्याम्प नोउमा ७ वर्षपछि च्याम्पियन्स लिगमा पहिलो हार

आजसम्म पाँचपटक च्याम्पियन्स लिग उपाधि जितेको बार्सिलोनाले यस प्रतियोगितामा पछिल्लो ७ वर्षयता घरेलु मैदानमा कुनै खेल हारेको थिएन । तर, यसपटक उसको सो यात्रामा पूर्णविराम लागेको छ । रोनाल्डोको टिमले बार्सिलोनाको यो शानदार यात्रालाई क्याम्प नोउमा शानदार ढंगले नै टुंगाइदियो ।

बार्सिलोनाविरुद्ध सर्वाधिक गोल गर्ने खेलाडी रोनाल्डो

बार्सिलोनाको १२१ वर्षे इतिहासमा यदि कुनै पनि खेलाडीले यस टिमविरुद्ध सबैभन्दा धेरै गोल गरेको छ भने अब उनी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो बनेका छन् । उनले बार्सिलोनाविरुद्ध सबैखाले प्रतियोगितामा हालसम्म ३६ खेल खेल खेल्दै २१ गोल गरेका छन् । बार्सिलोनाविरुद्ध आजसम्म अन्य कुनै पनि खेलाडीले यति गोल गरेका थिएनन् । रोनाल्डोले बार्सिलोनाविरुद्ध ३६ खेलबाट २१ गोल गर्दा ८ गोलमा असिस्टसमेत गरेका छन् । उनले गरेका २१ गोलमध्ये १३ गोल त उनले क्याम्प नोउमै गरेका छन् ।

पहिलोपटक एकै खेलमा खायो ३ गोल

युभेन्टससँग ३ गोल खाएर हार्दा बार्सिलोनाका नाममा अर्को पनि एउटा खराब रेकर्ड बनेको छ । च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाको घरेलु मैदानमा क्याम्प नोउमा गएर बार्सिलोनाविरुद्ध ३ गोल गर्ने युभेन्टस पहिलो टिम बनेको छ । अर्थात्, बार्सिलोनाले च्याम्पियन्स लिगमै पहलिोपटक एकै खेलमा ३ अवे गोल खाएको यो नै पहिलोपटक हो । यसअघि यस प्रतियोगितामा बार्सिलोना कहिल्यै पनि क्याम्प नोउमा कुनै पनि टिमबाट ३ गोल खानुपरेको थिएन ।

प्रकाशित मिति २५ मंसिर २०७७, बिहीबार १४:०३
Loading...