लिड्ससँग रोकियो आर्सनल : पेपेलाई रातो कार्ड

काठमाडौं, मंसिर ८
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिड्स युनाइटेड गोलरहित बराबरीमा रोकिएका छन् । गत राति भएको खेलमा आर्सनल लिड्सको घरमा ०–० को बराबरीमा रोकिएको हो । पाहुना टोली आर्सनल लिड्सको घरेलु मैदानमा खेलको ५२औं मिनेटमै १० खेलाडीमा सीमित भएको थियो ।

खेलमा दुवै टोलीले पटक–पटक गोलका अवसर सिर्जना गरे पनि गोल निकाल्न नसक्दा अंक बाँड्न बाध्य भए । घरेलु मैदानमा लिड्सले बलमा पकड जमाएर दुई दर्जन आक्रमण बुने पनि आर्सनलका गोलकिपरले उसका सबैखाले प्रयास असफल पारिदिएका थिए ।

खेलको ८७औं मिनेटमा प्याट्रिक बामफोर्डको सुन्दर हेडिङ पोस्टमा लागेर फर्किंदा लिड्स अन्तिम समयमा विजयी गोल गर्नबाट चुकेको थियो । अन्ततः खेल ०–० मा सकियो । र, दुवैले १–१ अंक बाँडे ।

आर्सनल खेलको ५२औं मिनेटमा १० खेलडीमा सीमित हुँदा पनि लिड्सले त्यसको फाइदा उठाउन सकेन । लिड्सका एलिओस्कीलाई टाउकोले हानेपछि पेपेलाई रेफ्रीले सातो कार्ड दिएर मैदानबाट निकालेका थिए ।

अब यो बराबरीसँगै आर्सनलले ९ खेलबाट १३ अंक बनाएको छ । लिड्सले पनि समान खेलबाट ११ अंक बनाएको छ । आर्सनल ११औं स्थानमा छ भने लिड्स १४औं स्थानमा छ ।

प्रकाशित मिति ८ मंसिर २०७७, सोमबार ०७:११
Loading...