इन्टर मिलानको उत्कृष्ट कमब्याक जितमा लुकाकुको २ गोल

काठमाडौं, मंसिर ७
बेल्जियन फरवार्ड रोमेलु लुकाकुले १ पेनाल्टीसहित २ गोल गरेपछि इटालियन क्लब इन्टर मिलानले घरेलु सिरी ए लिगमा फुटबलमा चौथो जित निकालेको छ । आइतबार राति आफ्नो घरेलु मैदानमा भएको खेलमा मिलानले पाहुना टोली टोरिनोलाई ४–२ ले हरायो ।

आफ्नो घरमा मिलान खेलको ६३औं मिनेटमा पुग्दा ०–२ ले पछि परेको थियो । तर, त्यसपछि मिलानले उत्कृष्ट कमब्याक गर्न सफल भयो । पाहुना टोली टोरिनोको लागि पहिलो हाफको थप समयमा सिमोनी जाजाले पहिलो गाल गरेका थिए । त्यसपछि ६२औं मिनेटमा पेनाल्टीमार्फत् क्रिस्टिएन अन्साल्डीले गोल गरेपछि मिलान घरमै ०–२ ले पछि परेको थियो ।

तर, त्यसपछि मिलानले खेलमा सफल पुनरागमन गर्न सक्यो । दोस्रो गोल खाएको २ मिनेटमै मिलानका लागि एलेक्सिस सान्चेजले गोल गरेर टिमलाई खेलमा फर्काएका थिए । त्यसको ३ मिनेटमै लुकाकुले गोल गरेपछि खेल २–२ को बराबरीमा आयो ।

त्यसपछि खेलको ८४औं मिनेटमा मिलानले पेनाल्टी पायो । टोरिनोका खेलाडीले बक्समा अचरफ हाकिमीलाई फउल गरेपछि रेफ्रीले मिलानलाई भिएआरमार्फत् पेनाल्टी दिए, जसमा लुकाकुले प्रहार गर्दै टिमलाई जितको बाटो देखाएका थिए । जब खेलको ९०औं मिनेटमा लौटारो मार्टिनेजले बक्स भित्रबाट सुन्दर गोल गरे, मिलानको ४–२ को जित पक्का भयो ।

अब यो जितपछि मिलानले ८ खेलबाट १५ अंक बनाएको छ । ऊ अंक तालिकाको पाँचौं स्थानमा छ । पराजित क्याग्लिअरी १० अंकसहित ११औं स्थानमा छ ।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार २१:४९
Loading...