एथ्लेटिको मड्रिडले बार्सिलोनालाई १० पछि हराउँदा ……

एजेन्सी, मंसिर ७
स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले बार्सिलोनालाई १० वर्षपछि हराएको छ । गत राति लिगको आठौं साताको खेलमा एथ्लेटिकोले आफ्नो घरेलु मैदानमा पाहुना टोली बार्सिलोनालाई १–० ले हरायो । बार्सिलोनाको फितलो रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै यानिक कारास्कोले गरेको १ मात्रै गोलको मदतमा एथ्लेटिकोले बार्सिलोनालाई निकै महँगो हार चखायो ।

जबकि, एथ्लेटिकोका लागि बार्सिलोनामाथि ला लिगामा १० वर्षपछिको जित थियो । पछिल्ला १० वर्षमा ला लिगा फुटबलमा बार्सिलोना एथ्लेटिकोसँग कहिल्यै पनि हार्नु परेको थिएन । पछिल्लोपटक सन् २०१० मा एथ्लेटिकोले बार्सिलोनालाई २–१ ले हराएको थियो । सो जितपछि एथ्लेटिकाले बार्सिलोनालाई हराउन पूरै १० वर्ष कुर्नुपरेको थियो ।

एथ्लेटिकोसँग गत रातिको हार बार्सिलोनाका लागि १० वर्षपछिको हार त थियो नै, सो हारपछि बार्सिलोना लिगमा ज्यादै खराब स्थितिमा पनि पुगेको छ । लिगमा ८ खेल सकिँदा बार्सिलोनाले कूल २४ अंकमध्ये मात्रै ११ अंक जोडेर १३ अंक गुमाइसकेको छ । र, ऊ यो समाचार बनाउँदासम्म लिगको ११औं स्थानमा रहेको छ ।

लिगमा सुरुका ८ खेल मात्रै सकिँदा बार्सिलोना लिग लिडर एथ्लेटिको मड्रिडसँग स्पष्ट ९ अंकले पछि परिसकेको छ । हालकै स्थितिमा हेर्ने हो भने बार्सिलोनाका लागि अब यो सिजनको उपाधि होड धेरै पर पुगिसकेको छ । लिगमा अझै अन्तिम ३० खेल बाँकी छन् । तर, बार्सिलोना हालकै स्थितिमा रहे उसले अझै खराब दिनको सामना गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार २०:४६
Loading...