काभालेइरो ‘पेनाल्टीमा चप्लिँदा’ एभर्टनको भाग्यशाली जित !

काठमाडौं, मंसिर ७
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन लगातार तीन हारपछि जितको बाटोमा फर्किएको छ । आइतबार राति भएको लिगको नवौं साताको खेलमा एभर्टनले फुलहामलाई उसकै घरेलु मैदानमा २–३ ले हरायो । घरेलु टोली फुलहामका खेलाडी पेनाल्टी प्रहार गर्नेत्रममा चिप्लिएर पेनाल्टी मिस गरेपछि एभर्टनको जित सम्भव भएको हो ।

एभर्टनका लागि खेलको पहिलो मिनेटमै डोनिमिक काल्भर्ट लेविनले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । एभर्टनको पहिलो र द्रुत मुभमा लेविनले गोल गरेर पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको १५औं मिनेटमा फुलहामका लागि बबी रेइडले गोल गर्दै खेल १–१ बराबरी गरेका थिए ।

त्यसपछि खेलको २९औं मिनेटमा एभर्टनले पुनः खेलमा अग्रता लियो । यसपटक लुकास डिग्नेको पासमा लेविनले नै गोल गर्दै टिमलाई अग्रता दिलाए । सो गोलका लागि लेविन, हामेस रोड्रिग्वेज र डिग्नेको उत्कृष्ट तालमेल बनेको थियो । दोस्रो गोल गरेको ६ मिनेटमै एभर्टनका लागि अब्डोलाए डोकोउरले गोल गर्दै खेल १–३ बनाए ।

त्यसपछि खेलको ६८औं मिनेटमा पाहुना टोली फुलहामले पेनाल्टी पाएको थियो । तर, फुलहामका इभान काभालेइरो पेनाल्टी प्रहार गर्नेक्रममा चिप्लिएर लडेपछि फुलहामले खेलमा फर्किने अवसर गुमायो । पेनाल्टी प्रहार गर्नेक्रममा काभालेइरो चिप्लिँदा उनले हानेको प्रहार गोल पोस्टभन्दा बाहिरबाट गएको थियो । उनी बल हान्दै गर्दा नमज्जाले चिप्लिएर बजारिएका थिए ।

त्यसपछि खेलको ७०औं मिनेटमा फुलहामका लागि रुबेन लोफ्टस–चिकले गोल गरेपछि एभर्टनको जित २–३ मा खुम्चियो । अब यो जितपछि एभर्टनले ९ खेलबाट १६ अंक जोडेर छैटौं स्थानमा चढेको छ । पराजित फुलहाम मात्रै ४ अंकसहित १७औं स्थानमा छ ।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार २०:०२
Loading...