पिकेले सिंगै सिजन गुमाउने : रोवेर्टो पनि लामो समय मैदानबाहिर

एजेन्सी, मंसिर ७
स्पेनिस फुटबल क्लब बार्सिलोनालाई चोटले सताएको छ । उसका २ जना प्रमुख खेलाडी प्रमुख डिफेन्डर जेरार्ड पिके र डिफेन्सिभ मिडफिल्डर सर्जी रोवेर्टो गम्भीर चोटबाट पीडित बनेका छन् । आज बार्सिलोनाले अफिसियल रूपमा पुष्टि गर्दै आफ्ना २ जनै खेलाडीको स्वास्थ्य जाँचपछि चोट बोकेको पुष्टि गरेको छ ।

गत राति ला लिगा फुटबलमा एथलेटिको मड्रिडविरुद्धको खेल दौरान यी दुवै खेलाडी घाइते भएका हुन् । बार्सिलोना ०–१ ले हारेको सो खेल बार्सिलोनालाई हारको पीडासँगै खेलाडीको चोटले पनि निकै महँगो परेको छ । क्लबले आफ्ना खेलाडी कहिलेसम्म मैदानबाहिर रहन्छन् भन्नेबारे अवधि नखुलाए पनि पिकेले यो सिजनका सबै खेल गुमाउनेछन् ।

पिकेको घुँडामा गम्भीर चोट परेको छ । र, उनको घुँडाको अप्रेसन नै गरिने बार्सिलोनाले जनाएको छ । खेलको दोस्रो हाफमा एथ्लेटिकोका एन्जल कोरेरिया पिकेको खुट्टामाथि लड्दा पिकेको घुँडामाथि भार पर्न गई उनी चोटिल बनेका थिए । उनले खेलको ६२औं स्थानमा मैदान छाडेका थिए ।

यता, अर्का खेलाडी रोवेर्टो पनि घाइते छन् । रोवेर्टोको दायाँ तीघ्रामा चोट परेको छ । बार्सिलोनाले रोवेर्टो कम्तीमा दुईदेखि अढाई महिनासम्म मैदानबाहिर रहने जनाएको छ । यी दुई खेलाडीको अनुपस्थितिमा अब युवा डिफेन्डरद्वउ सर्जिनो डेस्ट र जुनियर फिर्पोले समय पाउनेछन् ।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार १९:२८
Loading...