‘गोल्डेन ब्वाई अवार्ड’ जितेकै दिन हल्यान्डद्वारा एकै खेलमा ४ गोल !

काठमाडौं, मंसिर ७
युरोपियन गोल्डेन ब्वाई अवार्ड जितेकै दिन जर्मन क्लब बोरुसिया डर्टमुन्ड तथा नर्वेका युवा स्टार अर्लिङ हल्यान्डले एकै खेलमा ४ गोलको वर्षा गरेका छन् । गत राति बुन्डेसलिगाअन्तर्गत भएको आठौं साताअन्तर्गत हर्था र डर्टमुन्डको खेल दौरान हल्यान्ड एक्लैले ४ गोल गर्दा डर्टमुन्डले २–५ अन्तरको फराकिलो जित निकाल्यो ।

हर्थाको घरेलु मैदानमा भएको खेलमा सुरुआती अग्रता भने हथाले लिएको थियो । उसका लागि खेलको ३३औं मिनेटमा माथेउस चुन्हाले गोल गरेका थिए । त्यसपछि लगातार पाहुना टोली डर्टमुन्ड हाबी भयो । पहिलो गोल खाएपछि पाहुना टोलीले लगातार ४ गोल हान्यो ।

खेलको ४७औं मिनेटमा हल्यान्डले पहिलो गोल गर्दा त्यसको २ मिनेटमै उनले दोस्रो गोल गरेपछि डर्टमुन्ड खेलमा १–२ ले अघि भयो । त्यसपछि ६२औं मिनेटमा हल्यान्डले आफ्नो ह्याट्रिक पूरा गर्दा ७०औं मिनेटमा राफाएल गुरेरियोले गोल गरेपछि डर्टमुन्ड १–४ ले अघि भयो ।

त्यसपछि खेलको ७९औं मिनेटमा हर्थाले पेनाल्टी पायो, जसमा चुन्हाले नै गोल गर्दै खेल २–४ मा बनाए । तर, गोल खाएको केही सेकेन्डमै डर्टमुन्डका लागि हल्यान्डले व्यक्तिगत चौथो गोल गरेपछि खेल डर्टमुन्डले २–५ ले जित्यो ।

अब यो जितपछि डर्टमुन्डले ८ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा चढेको छ । ऊ लिग लिडर बार्यन म्युनिखभन्दा मात्रै १ अंकले पछि छ । पराजित हर्था ७ अंकसहित १३औं स्थानमा छ ।

डर्टमुन्डका हल्यान्ड शनिबार मात्रै गोल्डेन ब्वाई अवार्ड विजेतामा घोषित भएका थिए । सो अवार्ड २१ वर्षभन्दा कम उमेरका खेलाडीलाई दिइने प्रतिष्ठित अवार्ड हो । सो अवार्ड जितेकै दिन उनले उत्कृष्ट प्रदर्शन गर्दै एकै खेलमा ४ गोल गर्न सफल भए । हल्यान्डले यो सिजन मात्रै बुन्डेसलिगामा ७ खेलबाट १० गोल गर्दै २ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार १०:०४
Loading...