सिरी ए : रोनाल्डो चम्किँदा युभेन्टसको सहज जित

काठमाडौं, मंसिर ७
क्रिस्टियानो रोनाल्डोको उच्च प्रदर्शनको मदतमा इटालियन क्लब युभेटन्सले सिरी ए लिग फुटबलमा सहज जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको लिगको आठौं साताको खेलमा युभेन्टसले क्याग्लिरअरीलाई २–० ले हरायो । युभेन्टसलाई घरेलु मैदानमा जिताउन रोनाल्डो एक्लैले २ गोल गरे ।

एलिनाज रंगशालामा भएको खेलमा युभेन्टसले २ वटै गोल पहिलो हाफमा गरेको हो । अन्तर्राष्ट्रिय ब्रेकपछिको पहिलो खेलमा रोनाल्डोले ५ मिनेटको बीचमा २ गोल गरेर टिमलाई जितको बाटो देखाएका थिए । रोनाल्डोले खेलको ३८औं मिनेटमा पहिलो गोल गरेका थिए । बक्स लाइन नजिकैबाट रोनाल्डोले क्याग्लिअरीका ३ जना डिफेन्डरका माझबाट बायाँ खुट्टाले हानेको शक्तिशाली प्रहारले दर्शनीय ढंगले सोझै जाली चुमेको थियो । सो गोलमा अल्भारो मोराटाले असिस्ट गरेका थिए ।

पहिलो गोल गरेको ४ मिनेटमै रोनाल्डोले दोस्रो गोल गरे । यसपटक ४२औं मिनेटमा उनले कर्नरबाट आएको बलमा सुन्दर ढंगले माथिल्लो बार नजिकैबाट पोस्टको दिशा दिएका थिए । जुआन काउडराडोको कर्नर प्रहार युभेन्टसमा मेरिह डेमिराललाई लाग्दै चिप्लिएको बलमा रोनाल्डोले कुनै गल्ती नगरी दर्शनीय तरिकाले जाली चुमाएपछि युभेन्टसले पहिलो हाफमा २–० को अग्रता लियो ।

पहिलो हाफमा ह्याट्रिक गोलको मौका पाएका रोनाल्डोले दोस्रो हाफमा गोल थप्न सकेनन् । उनका दुई अवसरमा गोलकिपरले बचाउ गरिदिएपछि रोनाल्डो सिजनको पहिलो ह्याट्रिकबाट चुकेका थिए । दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपछि खेल युभेन्टसले २–० ले जित्यो ।

अब यो जितपछि युभेन्टसले लिगका ८ खेलबाट १६ अंक जोडेर दोस्रो स्थानमा चढेको छ । ऊ एक खेल कम खेलेको एसी मिलानभन्दा अझै पनि १ अंकले पछि छ । यता, पराजित क्याग्लिअरी ८ खेलपछि १० अंकसहित ११औ स्थानमा छ ।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार ०३:२५
Loading...