एथ्लेटिको भर्सेस बार्सिलोना : पहिलो हाफमा एथ्लेटिको १–० ले अघि

काठमाडौं, मंसिर ७
स्पेनिस ला लिगा फुटबलमा अहिले एथ्लेटिको मड्रिड र बार्सिलोनाबीचको खेल जारी छ । एथ्लेटिको मड्रिडको घरेलु मैदान स्टाडियो वान्डा मेट्रोपोलिटानो रंगशालामा जारी खेलको पहिलो हाफमा घरेलु टोली एथ्लेटिकोले १–० को अग्रता लिएको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको थप समयमा एथ्लेटिकोका लागि कारास्कोले निकै दर्शनीय गोल गरे ।

बार्सिलोनाको डिफेन्स लाइनको गल्तीका कारण सो गोल भएको थियो । डिफेन्डरले बल गुमाएपछि एन्जल कोरेरियाले दिएको पासमा कारास्कोले बार्सिलोनाका गोलकिपर अघि बढेको मौकामा उनलाई बिट गर्दै खाली पोस्टमा गोल गरेका थिए ।

गोल हुनुअघि एथ्लेटिकोले खेलको सरुआती १० मिनेटमा दुईपटक आक्रमण बुन्दा एक प्रहारमा बार्सिलोनाका गोलरक्षकले कठिन बचाउ गरेका थिए भने अर्को प्रहार बारमा लागेर फर्किंदा बार्सिलोना गोल खानबाट बचेको थियो । यता, बार्सिलोनाले पहिलो हाफमा मात्रै एकपटक राम्रो अवसर बनायो । कप्तान मेस्सीे पोस्ट नजिकैबाट प्रहार गरेको बल घरेलु टोलीका गोलकिपरले रोकिदिएका थिए ।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार ०२:३४
Loading...