रियल मड्रिड भिल्लारियलसँग बराबरीमा रोकियो

काठमाडौं, मंसिर ६
स्पेनिस ला लिगा फुटबलमा साबिक विजेता रियल मड्रिड लिगको नवौं खेलमा बराबरीमा रोकिएको छ । शनिबार राति अवे मैदानमा भएको खेलमा रियललाई भिल्लारियलले १–१ को बराबरीमा रोकिदिएको हो । घरेलु मैदानमा पछि परेको स्थितिमा भिल्लारियलले खेलको अन्तिम १५ मिनेटको बीचमा गोल गरेर रियललाई जितबाट वञ्चित गरिदियो ।

भिल्लारियलको घरेलु मैदानमा रियलले खेल सुरु भएको दोस्रो मिनेटमै अग्रता लिएको थियो । करिम बेन्जेमा र लुका जोभिचको अनुपस्थितिमा सुरुआतबाटै उत्रिएका मारिआनोले हेडिङमार्फत् निकै शानदार फिनिसिङमा गोल गरेका थिए । ड्यानी कार्भाहालको पासमा उनले कठिन पोजिसनबाट हेडिङ गोल गरेर घरेलु टोलीलाई सुरुआतमै झट्का दिएका थिए ।

रियल मड्रिड सोही १ गोलको अग्रता लिएर जिततर्फ अघि बढेको थियो । उसले खेलको ७५औं मिनेटसम्म ०–१ को अग्रता बचायो । तर, ७६औं मिनेटमा भिल्लारियलले पेनाल्टी पायो । रियलका गोलकिपर थिबाउट कोर्टुवाले बल लिएर बक्सभित्र छिरेका भिल्लारियलका खेलाडीलाई लडाएपछि रेफ्रीले भिल्लारियललाई सोझै पेनाल्टी दिएका थिए, जसमा जेरार्ड मोरेनोले कुनै गल्ती नगरी गोल गरेर खेल बराबरी बनाए ।

त्यसपछि बाँकी समयमा दुवै पक्षबाट खेलमा थप गोल भएन । र, खेल १–१ को बराबरीमा टुंगियो । अब यो बराबरीपछि रियललाई अंक तालिकामा झट्का लागेको छ । रियलको खातामा अब ९ खेलबाट मात्रै १७ अंक भएको छ । रियल चौथो स्थानमा छ । भिल्लारियल १० खेलबाट १९ अंक बनाएर दोस्रो स्थानमा चढेको छ ।

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार २२:५५
Loading...