बुन्डेसलिगा : घरेलु मैदानमा बार्यन हारबाट जोगियो

काठमाडौं, मंसिर ६
जर्मन लिग बुन्डेलिगामा बार्यन म्युनिख लिगको आठौं खेलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्यन आफ्नो घरेलु मैदानमा पाहुना टोली वेर्डरसँग १–१ को बराबरीमा रोकिएको हो । बार्यनले पछि परेको अवस्थामा दोस्रो हाफमा बराबरी गोल फर्काएर सम्भावित हार पन्छाएको हो ।

बार्यनको घरेलु मैदानमा पाहुना टोली वेर्डरका लागि खेलको ४५औं मिनेटमा म्याक्सिमिलिएन इगेसटिनले निकै सुन्दर गोल गरेका थिए । मैदानको तल्लो भागबाट सार्गेन्टले दिएको क्रस पासमा इगेसटिनले बायाँ खुट्टाले वान टचमै सुन्दर ढंगले बललाई जाली चुमाएपछि घरेलु टोली ०–१ ले पछि परेको थियो ।

आफ्नो घरमा कमजोर प्रदर्शन गरेको बार्यनले ज्यादै कम मात्रै गोलका अवसर बनायो । खेलमा पछि परेको अवस्थामा खेलको ६२औं मिनेटमा किङ्स्ले कोमानले गोल गरेपछि बार्यन खेलमा फर्किएको थियो । उनले गोरेट्जाको पासमा गोल गरेका थिए । सो गोलपछि खेलमा थप गोल भएन र खेल १–१ मा टुंगियो ।

अब यो बराबरीपछि बार्यनले आफ्नै घरमा २ अंक गुमाएको छ । यद्यपि, ऊ ८ खेलपछि १९ अंक बनाएर शीर्ष स्थानमा यथावत छ । वेर्डरले ८ खेलबाट ११ अंक जोडेको छ ।

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार २२:१३
Loading...