चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

काठमाडौं, मंसिर ६
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले नवौं साताको खेलमा सहज जित निकालेको छ । आज शनिबार भएको खेलमा चेल्सीले न्युक्यासललाई उसकै घरेलु मैदानमा ०–२ ले स्तब्ध बनायो । औसत स्तरको प्रदर्शन गरेको चेल्सीलाई अवे मैदानमा जिताउन युवा फरवार्ड टमी अब्राहमले १ गोल गरे भने चेल्सीले १ गोल उपहारमा पायो ।

खेलको १०औं मिनेटमा घरेलु टोली न्युक्यासलले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सीले ०–१ को अग्रता बनाएको थियो । बक्समा चेल्सीका टिमो वार्नर र चिलवेलले बनाएको मुभमा बल क्लियर गर्न नसक्दा न्युक्यासलका फेडरिको फर्नान्डेजले आफ्नै पोस्टमा गोल गरेका थिए । चेल्सीले उत्कृष्ट मुभ बनाएकोमा उसले उपहारमा भए पनि गोल पाएरै छाड्यो ।

त्यसपछि खेलको ६५औं मिनेटमा चेल्सीका लागि दोस्रो गोल इंग्लिस फरवार्ड टमी अब्राहमले गोल गरे । टिमो वार्नरले मैदानको मध्यभागबाट दौडाएर लगेको बल उनले बक्सभित्राट गोलकिपरलाई बिट गर्दै दिएको छोटो पासमा अब्राहमले बललाई जाली चुमाए । उनको हलुका प्रहार पोलमा लाग्दै छिरेको थियो । त्यसपछि खेलमा थप भएन । र, खेल चेल्सीले ०–२ ले जित्यो ।

अब यो जितपछि चेल्सीले ९ खेलबाट १८ अंक जोडेको छ । टोटनह्यामले आजै राति म्यानचेस्टर सिटीसँग खेल्नुभन्दा अघिसम्म चेल्सी अंक तालिकाको शीर्ष स्थानमा पनि चढेको छ । यदि आज राति टोटनह्यामले सिटीलाई हराए ऊ शीर्ष स्थानमा उक्लिनेछ । यता, चेल्सीसँग पराजित न्युक्यासल ११ अंकसहित १३औं स्थानमा छ ।

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार २०:१२
Loading...