रियल मड्रिड र बार्सिलोनालाई सिमोनीको ‘कडा डाइलग’ !

एजेन्सी, मंसिर ६
स्पेनिस ला लिगा टोली एथ्लेटिको मड्रिडका प्रमुख प्रशिक्षक डिएगो सिमोनीले यसपटक लिग उपाधि दौड सधैंभन्दा कठिन हुने बताएका छन् । लिगको आठौं सातामा बार्सिलोनाविरुद्धको खेलअघि पत्रकार सम्मेलनमा भाग लिँदै अर्जेन्टिनी म्यानेजरले अहिले ला लिगाको सुरुआती चरण रहे पनि यसपटक कुन स्तरको प्रतिस्पर्धा हुन्छ भनेर दृश्य देखिइसकेको बताए ।

लामो समयदेखि एथ्लेटिको सम्हालिरहेका सिमोनीले यसपटक ला लिगा उपाधि होडमा रियल मड्रिड र बार्सिलोना मात्रै नरहने बताएका छन् । उनले चेतावनीमूलक रूपमा रियल र बार्सिलोनालाई कडा चुनौती दिँदै एथ्लेटिको यसपटक सबै हिसाबले लिग च्याम्पियन बन्न संघर्ष गर्न तयार रहेको बताएका छन् । साथै, उनले एथ्लेटिको यसपटक सुधारिएको अवस्थामा रहेको पनि बताएका छन् ।

‘यदि म गलत छैन भने यसपटक ला लिगाको उपाधि होड धेरै नै कठिन हुनेवाला छ, सबै टोलीका लागि । च्याम्पियन बन्न दाबेदार बार्सिलोना र रियल मड्रिडलाई यसपटक सजिलो पक्कै हुनेछैन,’ सिमोनीले भनेका छन्, ‘हामी अहिले सुरुआतमा छौं । तर, उपाधि होड कस्तो हुन्छ भन्ने दृश्य अहिले देखिइसकेको छ । मलाई लाग्छ, यसपटक विगतभन्दा फरक प्रतिस्पर्धा हुनेछ ।’

सिमोनीले बार्सिलोना र रियल कति समस्याबाट गुज्रिरहेका छन् भने आफूले ध्यान दिनेभन्दा पनि आफ्नो टोलीलाई हरेक खेलमा मजबुत बनाउन ध्यान दिने बताए । ‘उनीहरू समस्यामा छन् कि छैनन् भनेर मैले हेर्नु छैन । म मेरो टिमलाई हरेक खेलमा राम्रो बनाउन चाहन्छु । हामीसँग अहिले निकै राम्रो टोली छ । यहाँ अनुभवी र युवा खेलाडी ठीक अवस्थामा छन् । मलाई लाग्छ, हामी अहिले सबैभन्दा मजबुत अवस्थामा छौं,’ सिमोनीले भने ।

सिमोनीले एथ्लेटिको ला लिगा च्याम्पियन बन्न योग्य रहेको र त्यसका लागि अन्तिम खेलसम्म लड्ने बताए । ‘हामी लिग च्याम्यिन बन्न योग्य टिम हौं । हामी यसपटक उत्साहित छौं । तर, हामीले अत्यन्तै सोचीसम्झी अघि बढ्नुपर्छ । हामी यसपटक ला लिगामा बार्सिलोना र रियल मड्रिडको दबदबा तोड्न चाहन्छौं । त्यसका लागि अन्तिम समयसम्म लड्नेछौं,’ सिमोनीले थपे ।

यदि आज राति घरेलु मैदानमा हुने बार्सिलोनाविरुद्धको खेल स्पष्ट अन्तरमा जिते एथ्लेटिकोले बार्सिलोनालाई मात्रै ८ खेल सकिँदा ९ अंकले पछि पार्नेछ, जुन बार्सिलोनाका लागि उपाधि होडमा फर्किन सहज हुनेछैन ।

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार १८:४२
Loading...