‘गोल मेसिन’ हल्यान्डले जिते गोल्डेन ब्वाई अवार्ड

काठमाडौं, मंसिर ६
जर्मन क्लब बोरुसिया डर्टमुन्ड तथा नर्वेका स्टार युवा फरवार्ड अर्लिङ हयान्डले यस वर्षको गोल्डेन ब्वाई अवार्ड जितेका छन् । वर्ष २०२० को प्रतिष्ठित अवार्डमा हल्यान्डले बाजी मारेका हुन् । यो अवार्ड इटालीको चर्चित पत्रिका ‘टुट्टो स्पोर्टस्’ ले सन् २००३ देखि बर्सेनि दिँदै आएको छ ।

यो अवार्ड हरेक वर्ष २१ वर्षभन्दा कम उमेरका खेलाडीलाई प्रदान गरिन्छ । यो अवार्ड एकपटक जितेको खेलाडीलाई पुनः दिइँदैन । यो अवार्ड जित्ने खेलाडीलाई भविष्यका स्टार खेलाडीका रूपमा चिनिन्छ । गएको वर्ष यो अवार्ड हाल स्पेनिस एथ्लेटिको मड्रिडमा रहेका पोर्चुगिज फरवार्ड जुआओ फेलिक्सले जितेका थिए ।

यसपटक गोल्डेन ब्वाई अवार्डका लागि डर्टमुन्डकै जाडोन सान्चो, बार्यन म्युनिखका अल्फोन्सो डेभिस, म्यानचेस्टर युनाइेडका मासोन ग्रीनउड र स्पेनिस बार्सिलोनाका अन्सु फातीसहितका चर्चित युवा खेलाडी दौडमा थिए ।

गत सिजन २०१९–२० भरिमा हल्यान्डले कूल ४४ गोल गरेका थिए । अस्ट्रियन क्लब रेड बुल साल्जवर्गबाट डर्टमुन्ड पुगेका उनले लगातार उच्च स्तरको प्रदर्शन गरिरहेका छन् । यस सिजन मात्रै उनले ११ खेलबाट ११ गोल र ३ असिस्ट गरिसकेका छन् ।

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार १५:२१
Loading...