सिरी ए : आज युभेन्टसले क्याग्लिअरीको सामना गर्दै

काठमाडौं, मंसिर ६
अन्तर्राष्ट्रिय ब्रेक सकिएपछि इटालियन सिरी ए लिग फुटबल आजबाट सुचारु हुँदैछ । आज जम्मा तीन खेल हुनेछन् । आज हुने खेलमध्ये युभेन्टस, एटलान्टा र लाजियोले आ–आफ्नो खेल खेल्दैछन् । आज यी तीनवटै खेल महत्त्वपूर्ण हुनेछन् ।

आज हुने पहिलो खेल क्रोटोने र लाजियोबीच हुनेछ । यो खेल नेपाली समयअनुसार राति ७ः४५ बजेबाट क्रोटोनेको घरेलु मदानमा सुरु हुनेछ । हाल अंक तालिकामा क्रोटोने ७ खेलबाट मात्रै २ अंक बनाएर अंक तालिकाको सबैभन्दा पुछार २०औं स्थानमा छ भने लाजियो समान खेलपछि ११ अंक बनाएर नवौं स्थानमा छ ।

आज हुने दोस्रो खेलमा स्पेजिया र एटलान्टा आमनेसामने हुँदैछन् । यो खेल स्पेजियाको घरेलु मैदानमा नेपाली समयअनुसार राति १०ः४५ बजेबाट सुरु हुनेछ । हाल अंक तालिकामा स्पेजिया ८ अंकसहित १३औं स्थानमा छ भने एटलान्टा १३ अंकसहित छैटौं स्थानमा छ ।

आज हुने अन्तिम खेल युभेन्टस र क्याग्लिअरीबीच हुनेछ । यो खेल युभेन्टसको घरेलु मैदानमा नेपाली समयअनुसा राति १ः३० बजेबाट सुरु हुनेछ । हाल अंक तालिकामा युभेन्टस १३ अंक बनाएर पाँचौं स्थानमा छ । उसले ७ मध्ये मात्रै ३ खेल जित्दा ४ खेलमा बराबरीमा रोकिएको छ । यता, क्याग्लिअरी १० अंकसहित ११औं स्थानमा रहेको छ ।

आज घरेलु मैदानमा उत्रिँदा युभेन्टसको टोलीमा केही प्रमुख खेलाडी हुनेछैनन् । कप्तान जर्जियो किलिनी, उपकप्तान लियान्द्रो बोनुचीबिनाको रक्षापंक्ति आज घरेलु मैदानमा हुनेछ । तर, लामो समपछि चोटमुक्त हुँदै युवा डिफेन्डर माथिस डि लिग्ट आज रातिको खेलबाट कमब्याक गर्दैछन् । रक्षापंक्तिमा डि लिग्टसँगै ड्यानिलो, मेरिह डेमिराल र जुआन काउडरानो हुने सम्भावना छ ।

यता, फ्रन्ट लाइनमा आज क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा, पाउलो डिबाला, फेडरिको किइजालगायत सबै खेलाडी उपलब्ध छन् । आज एलिनाज रंगशालामा युभेन्टसको टोलीको कप्तानी क्रिस्टियानो रोनाल्डोले गर्ने करिब–करिब तय छ ।

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार ०९:२०
Loading...