चोट र कोरोनाले थलिएको रियल मड्रिड आज भिल्लारियलसँग खेल्दै

काठमाडौं, मंसिर ६
स्पेनिस ला लिगा फुटबलमा आज राति केही महत्त्वपूर्ण खेलहरू हुँदैछन् । आज हुने खेलहरूमध्ये एक खेलमा भिल्लारियल र रियल मड्रिड सिजनको पहिलो खेल खेल्न आमनेसामने हुन लागेका हुन् । खेल भिल्लारियलको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक ९ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा भिल्लारियल ९ खेल खेलेर १९ अंकसहित दोस्रो स्थानमा रहेको छ । यता, रियल भने ८ खेल खेलेर १८ अंकसहित चौथो स्थानमा रहेको छ । घरेलु मैदानमा उत्रिन लागेको भिल्लारियलले आज पाुहना टोली रियललाई कडा चुनौती दिने पक्का छ ।

पाहुना टोली रियल आज कठिन स्थितिबाट अवे मैदानमा खेल्नेछ । प्रमुख खेलाडी कोरोना भाइरसको संक्रमण र चोटले टोलीमा छैनन् । हालसालै ठिक भएर आएका खेलाडी पनि पूर्ण रूपमा फिट नरहेकाले प्रशिक्षक जिनेदिन जिदानलाई टोली बनाउन सहज छैन । कोरोनासँग जुधिरहेका इडेज हाजार्ड, इडर मिलिटाओ कोरोनामुक्त हुँदै टोलीमा फर्किएका छन् ।

तर, अघिल्लो दिन मात्रै अर्का फरवार्ड लुका जोभिक कोरोनाबाट संक्रमित भएका छन् । त्यसैगरी, कप्तान सर्जियो रामोस घाइते छन् भने मिडफिल्डर कासेमिरो पनि कोरोनासँग जुधिरहेका छन् । फेडे भाल्भर्डे पनि घाइते छन् । करिम बेन्जेमाले समूहमा प्रशिक्षण गरेका छन् । तर, उनी १०० प्रतिशत फिट भइसकेका छैनन् ।

साबिक विजेता रियलले यो सिजन ८ खेल खेलिसक्दा ५ खेल जितेर १ खेल बराबरी गर्दा २ खेल हारिसकेको छ । उसले लिगमा राम्रो सुरुआत गर्न सकेको छैन । आज एक बलियो टोली भिल्लारियलविरुद्ध उत्रिँदा रियलमाथि स्पष्ट जितको दबाब हुनेछ ।

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार ०९:०५
Loading...