आज एथ्लेटिको र बार्सिलोना भिड्दै : चर्को दबाबमा बार्सिलोना

काठमाडौं, मंसिर ६
स्पेनिस ला लिगा फुटबलमा आज राति केही महत्त्वपूर्ण खेलहरू हुँदैछन् । आज हुने खेलहरूमध्ये सबैभन्दा रोमाञ्चक र धेरैले प्रतीक्षा गरेको खेल एथ्लेटिको मड्रिड र बार्सिलोनाबीच हुनेछ । यी दुई टोली यो सिजनको पहिलो खेल खेल्न आज राति आमनेसामने हुन लागेका हुन् । खेल एथ्लेटिको मड्रिडको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा एथ्लेटिको ७ खेलपछि १७ अंकसहित तेस्रो स्थानमा छ । ऊ २ खेल बढी खेलेको लिग लिडर रियल सोसिडाडभन्दा ३ अंकले पछि छ । यता, बार्सिलोना भने यतिखेर खराब स्थितिमा छ । उसले ७ खेलबाट मात्रै ११ अंक जोडेर आठौं स्थानमा छ । बार्सिलोना अहिले नै एथ्लेटिकोभन्दा ६ अंकले पछि छ । यदि आज राति पराजित भए ऊ ९ अंकले पछि पर्नेछ ।

आज घरेलु मैदानमा उत्रिँदा एथ्लेटिको मड्रिडको टोलीमा नयाँ फरवार्ड लुइस स्वारेज हुनेछैनन् । कोरोना भाइरसबाट संक्रमित बनेका उनको रिपोर्ट नेगेटिभ आइनसकेकाले उनले यो खेल गुमाउनेछन् । गत समर सिजनमा बार्सिलोना छाडेका उनले पूर्वक्लबविरुद्धको पहिलो खेल नै गुमाउनेछन् । स्वारेज नहुँदा आज एथ्लेटिकोलाई बार्सिलोनाविरुद्ध एक अनुभवी खेलाडीको अभाव अवश्य खड्किनेछ ।

खेलअघि पत्रकार सम्मेलनमा कुरा गर्दै प्रशिक्षक डिएगो सिमोनीले भने स्वारेज नभए पनि आफूहरू बार्सिलोनाविरुद्ध खेल्न तयार रहेको बताएका छन् । साथै, उनले हालकै टिम पनि बार्सिलोनाविरुद्ध खेल्न काफी हुने बताएका छन् । उनको टोलीमा स्वारेजबाहेक अन्य सबैजसो खेलाडी आज राति उपलब्ध हुनेन् ।

यता, बार्सिलोनाको टोलीमा भने आज लगभग सबै खेलाडी उपलब्ध छन् । हालै अन्तर्राष्ट्रिय ब्रेकपछि खेलाडी फर्किए पनि कप्तान मेस्सी, एन्टोनी ग्रीजम्यानसहितका खेलाडी आज राति मैदान उत्रिनेछन् । त्यसैगरी, यसअघि चोटसँग जुधिरहेका फिलिपे कोउटिन्टो चोटमुक्त हुँदै आज राति कमब्याक गर्दैछन् । एथ्लेटिकोविरुद्ध बार्सिलोनाको फ्रन्ट लाइनमा मेस्सी, ग्रीजम्यान, डेम्बेले, ट्रिनकाओ, कोउटिन्होसहितका खेलाडी हुनेछन् ।

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार ०८:२७
Loading...