अग्रता जोगाउन नसक्दा पिएसजी मोनाकोसँग पराजित

काठमाडौं, मंसिर ६
फ्रेन्च लिग वान फुटबलमा लिग लिडर पिएसजीले सिजनको तेस्रो हार व्यहोरेको छ । गत राति भएको खेलमा मोनाकोले आफ्नो घरेलु मैदानमा पिएसजीलाई ३–२ गोलअन्तरले स्तब्ध बनायो । प्रमुख फरवार्ड नेइमारलाई बेन्चमा राखेर मैदान उत्रिएको पिएसजीले अवे मैदानमा ०–२ को अग्रता जोगाउन नसक्दा हार व्यहोरेको हो ।

पिएसजीले खेलको ३७औं मिनेटमा पुग्दा ०–२ को अग्रता बनाएको थियो । खेलको २५औं मिनेटमा केलियन एमबाप्पेले पहिलो गोल गर्दा ३७औं मिनेटमा उनैले दोस्रो गोल पेनाल्टीमार्फत् गरेका थिए । उनका २ गोलपछि पहिलो हाफमा पिएसजीले ०–२ को लिड लियो ।

तर, दोस्रो हाफमा घरेलु टोली मोनाकोले उत्कृष्ट कमब्याक सफल बनायो । खेलको ५२औं मिनेटमा केभिन भोलान्डले पहिलो गोल गरेर खेल १–२ मा छोट्याउँदा ६५औं मिनेटमा भोलान्डले नै अर्को गोल हानेपछि खेल २–२ को बराबीमा आयो । त्यसपछि खेलको अन्तिम समय ८४औं मिनेटमा मोनाकोका लागि सेस फाब्रिगासले पेनाल्टीमार्फत् गोल गरेपछि खेल मोनाकोले ३–२ ले जित्यो ।

यस खेलमा पिएसजी ८३औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । डिफेडन्र अब्डोउ डियाल्लोले बक्समा विपक्षी खेलाडीलाई समातेर लडाएपछि रेफ्रीले भिएआरमार्फत् उनलाई रातो कार्ड दिए भने मोनाकोलाई पेनाल्टी दिएका थिए । सोही पेनाल्टीमा मोनाकोले विजयी गोल गरेको थियो । यस खेलमा नेइमारलाई खेलको ६०औं मिनेटमा एन्जल डि मारियाको स्थानमा मैदान छिराइएको थियो ।

अब यो जितपछि मोनाको लिगको दोस्रो स्थानमा चढेको छ । उसले ११ खेलबाट २० अंक जोडेको छ । पराजित पिएसजी अझै पनि ११ खेलपछि २४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार ०७:४९
Loading...