रियल मड्रिडलाई कोरोना कहर : जोभिक पनि संक्रमित

एजेन्सी, मंसिर ५
स्पेनिस क्लब रियल मड्रिडलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले थप सताएको छ । उसका अर्का फरवार्ड लुका जोभिक पनि कोरोनाबाट संक्रमित भएका छन् । आज क्लब रियल मड्रिडले अफिसियल रूपमा प्रेस नोट जारी गर्दै २२ वर्षीय सर्बियन खेलाडीको कोरोना जाँचको रिपोर्ट पोजेटिभ आएको बताएको छ ।

जोभिक ३ दिनअघि मात्रै अन्तर्राष्ट्रिय फुटबलमा सर्बियन टोलीमा सहभागी थिए । युइएफए नेसन्स लिगअन्तर्गत घरेलु मैदानमा रसियाविरुद्धको खेलमा जोभिकले २ गोल गरेका थिए । सो खेल सर्बियाले ५–० ले जितेको थियो । सर्बियन टोलीबाट रियल फर्किएपछि पिसिआर जाँच गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

रियलमा यसअघि पनि ३ जना खेलाडी कोरोनाबाट संक्रमित भएका थिए । इडेन हाजार्ड, कासेमिरो र इडर मिलिटाओ संक्रमित भएकोमा हाजार्ड र मिलिटाओ भने संक्रमणमुक्त हुँदै प्रशिक्षणमा फर्किकसकेका छन् । कासेमिरो अझै पनि आइसोलेसनमै छन् ।

प्रकाशित मिति ५ मंसिर २०७७, शुक्रबार २२:२७
Loading...