‘फ्रि किक गोल’मा रोनाल्डोभन्दा मेस्सी खराब स्थितिमा : हेरौं तथ्यांक

काठमाडौं, मंसिर ५
गत सिजन इटालियन क्लब युभेन्टसका प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डो युभेन्टसमा फ्रि किकमार्फत् गोल गर्न नसक्दा कुनैबेला खुबै आलोचित बनेका थिए । उनले युभेन्टसमा अनुबन्ध भइकन पहिलो फ्रि किक गोल गर्न कूल ४२ पटक प्रहार गर्नु परेको थियो । अर्थात्, युभेन्टसको जर्सीमा उनले ४२औं फ्रि किक प्रहार गर्दा बल्ल गोल गरेका थिए । उनले टुरिन डर्बीमा टोरिनोविरुद्ध दर्शनीय गोल गर्दै फ्रि किक गोलको खडेरी अन्त्य गरेका थिए ।

रोनाल्डो फ्रि किक गोलको चरम खडेरीमा गुज्रिरहँदा त्यसबेला उनका खास प्रतिस्पर्धी स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी भने भकाभक दर्शनीय फ्रि किक गोलहरू गरिरहेका थिए । मेस्सीले पटक–पटक फ्रि किक गोल गर्दा रोनाल्डो ४१औं प्रहारमा पनि असफल हुँदा मिडियामा उनको आलोचनाले राम्रै स्थान पाएको थियो ।

तर, अहिले समय ठीक बिपरीत भएको छ । मेस्सी अहिले गत सिजन रोनाल्डोकै जस्तो गरी फ्रि किक गोलको चरम खडेरीबाट गुज्रिरहेका छन् । यतिबेलाकै कुरा गर्दा मेस्सी फ्रि किक गोल मात्रै नभएर ओपन–प्ले गोलकै खडेरीबाट गुज्रिरहेका छन् । उनले पेनाल्टीमार्फत् नै भए पनि गोल गर्दै आएको अवस्थामा फ्रि किक गोल नगरेको त धेरै समय भइसकेको छ ।

फुटबलको तथ्यांक संकलन गर्ने चर्चित संस्था ‘ओप्टा’ले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार मेस्सीले पछिल्लो समय कूल ६३ पटक फ्रि किक प्रहार गर्दा मात्रै १ गोल गर्न सफल भएका छन् । मेस्सीको हालको अवस्था गत सिजन रोनाल्डोको करिअरको सबैभन्दा खराब रेकर्डभन्दा पनि खराब हो ।

‘ओप्टा’का अनसार मेस्सीले पछिल्लोपटक देश र क्लबका लागि गरी प्रहार गरेका कूल ६३ फ्रि किक प्रहारमा मात्रै १ प्रहार गोलमा परिणत हुँदा ७ प्रहारलाई गोलकिपरले बचाएका छन् । उनका ४ प्रहार पोल र बारमा लागेर फर्किएका छन् । ९ प्रहार मानवीय पर्खालमा लागेका छन् । २१ प्रहारलाई विपक्षी खेलाडीले क्लियर गरेका छन् । बाँकी २१ प्रहार भने अफ् टार्गेट रहेका छन् ।

यता, पछिल्लो समयको कुरा गर्दा रोनाल्डो भने राम्रो स्थितिमा छन् । मेस्सी फ्रि किक गोलको खडेरीमा गुज्रिरहँदा रोनाल्डोले फ्रि किक गोल गरेका छन् । ‘ओप्टा’का अनुसार मेस्सीले पछिल्लो समय कूल ६३ फ्रि किक हानेकै अवधिमा रोनाल्डोले देश र क्लबका लागि गरी कूल ३७ फ्रि किक प्रहार गरेका छन् । जसमा उनका ३ प्रहार गोलमा परिणत भएका छन् ।

त्यसैगरी, उनका ५ प्रहारलाई गोलकिपरले बचाएका छन् । ४ प्रहार पोल र बारमा लागेर फर्किएका छन् । त्यसैगरी, ७ प्रहार मानवीय बारमा लागेका छन् भने ६ प्रहार विपक्षी खलाडीले क्लियर गरेका छन् । बाँकी १२ प्रहार अफ् टार्गेट रहेका छन् ।

प्रकाशित मिति ५ मंसिर २०७७, शुक्रबार २१:०९
Loading...