खेलको एक दिनअघि बार्सिलोनालाई एथ्लेटिको मड्रिडको ‘रातो बत्ती’ !

एजेन्सी, मंसिर ५
स्पेनिस ला लिगा फुटबलमा भोलि (नेपाली समयअनुसार आइतबार बिहान) ला लिगामा सिजनकै एक ठूलो खेल हुँदैछ, जहाँ उपाधि दाबेदार एथ्लेटिको मड्रिड र बार्सिलोना सिजनको पहिलो लेगमा आमनेसामने हुँदैछन् । सो खेलअघि एथ्लेटिको प्रशिक्षक डिएगो सिमोनीले बार्सिलोनासँगको खेलबारे निकै जोसिला भनाइ राखेका छन् ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै अर्जेन्टिनी म्यानेजरले बार्सिलोनासँगको खेलका लागि आफूहरू पूर्ण रूपमा तयार रहेको बताए । सिमोनीले एथ्लेटिको यसपटक उपाधि जित्न योग्न टिम छ भनेर बार्सिलोनाविरुद्धको खेलमा साबित गरेर आफूहरूले देखाउने बताएका छन् ।

हाल अंक तालिकामा एथ्लेटिको ७ खेल सकिँदा १७ अंकसहित तेस्रो स्थानमा छ । ९ खेल खेलेको रियल सोसिडाड २० अंकसहित शीर्ष स्थनमा छ । भोलि घरेलु मैदानमा भित्रिन लागेको बार्सिलोना ७ खेलपछि मात्रै ११ अंक बनाएर आठौं स्थानमा छ । हाल समान खेलपछि एथ्लेटिको बार्सिलोनाभन्दा स्पष्ट ६ अंकले अघि छ ।

‘यो खेललाई लिएर म र मेरा खेलाडी उत्साहित छन् । केही खेलाडी समस्यामा छन् । तैपनि, हामी तयार छौं । किनभने, यो सिजनकै एक महत्त्वपूर्ण खेल हो,’ सिमोनीले भनेका छन्, ‘यो खेलको महत्त्व कति छ भनेर हामीलाई थाहा छ । किनभने, यो खेल जित्दा हामी बार्सिलोनाभन्दा ९ अंकले अघि हुन्छौं ।’

सिमोनीले आफ्ना एक प्रमुख खेलाडी लुइस स्वारेज कोरोना भाइरसको संक्रमणका कारण टोलीमा नहुने अवस्थामा पनि ठूलो समस्या नहुने बताए । ‘हामी स्वारेजलाई यो खेलमा चाहन्थ्यौं । उनी पनि यो खेल गुमाउन चाहँदैन थिए । तर, सायद उनी हामीसँग हुँदैनन्,’ सिमोनीले भने, ‘उनी नहुँदा पनि हामीसँग टिम तयार छ । बार्सिलोनाविरुद्ध हामी उत्कृष्ट खेलको नमूना पस्किने तयार छौं ।’

सिमोनीले एथ्लेटिको यसपटक लिग च्याम्पियन बन्ने योग्य छ भनेर बार्सिलोनालाई हराएर देखाउनुपर्ने बताए । ‘हामी यसपटक लिग जित्न चाहन्छौं र योग्य छौं भनेर भन्छौं भने हामीले बार्सिलोनालाई कुनै पनि मूल्यमा हराउनैपर्छ,’ सिमोनीले भने, ‘उनीहरूविरुद्ध खेल्नु सधैं कठिन हुन्छ । तर, हामी ठूला–ठूला कठिनाइलाई सहज बनाउन पनि जान्दछौं ।’

प्रकाशित मिति ५ मंसिर २०७७, शुक्रबार १८:१४
Loading...