रोनाल्डो र मेस्सीको दोस्रो इनिङ : ‘इएल क्लासिको’बाट ‘म्यानचेस्टर डर्बी’तर्फ !

एजेन्सी, मंसिर ५
इंग्लिस क्लब म्यानचेस्टर सिटी आगामी समर विन्डोमा स्पेनिस क्लब बार्सिलोनाबाट अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीलाई भित्र्याउने तयारीमा छ । ३४ वर्ष पुग्न लागेका मेस्सीलाई जारी सिजनको अन्त्यसँगै सिटीले फ्रि ट्रान्सफरमा भित्र्याउन पाउँछ, यदि मेस्सीले सिटी जान चाहेमा । अघिल्लो दिन मात्रै प्रशिक्षक पेप ग्वार्डिओलाले सिटीसँग थप दुई सिजनका लागि सम्झौता लम्ब्याएपछि मेस्सीको प्रिमियर लिगको सरुवाको सम्भावना अझै बढेको छ ।

विगतमा बार्सिलोनामा लामो समय सँगै काम गरेर अपत्यारियला सफलताहरू बटुलेका ग्वार्डिओला र मेस्सी लामो समयपछि फरक लिग र फरक क्लबमा एक हुने सम्भावना बढ्दा धेरैका लागि यो चासो र चर्चाको विषय बनेको छ । यदि बार्सिलोनामा बाँकी दिनमा फरक अवस्था नआए र मेस्सीले क्याटलान क्लबसँग सम्झौता थप नगरे उनको सिटी यात्रा करिब–करिब तय देखिन्छ ।

प्रिमियर लिगमा मेस्सी र रोनाल्डो !

सरुवा बजारका पछिल्ला रिपोर्टहरूअनुसार यदि सिटीले मेस्सीलाई भित्र्याए अर्को क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोलाई इटालियन युभेन्टसबाट भित्र्याउने आन्तरिक तयारी गरेको छ । क्लब इतिहासकै एक सफल र सुपरस्टार पोर्चुगिज खेलाडी रोनाल्डोलाई भित्र्याएर युनाइटेड एकपटक क्लबको स्तर र चर्चा दुवै बढाउन चाहन्छ । रोनाल्डोले सन् २००९ मा कीर्तिमानी सरुवा मूल्यमा रियल मड्रिड जान युनाइटेड छाडेका थिए । रोनाल्डोकै पालामा युनाइटेडले प्रिमियर लिगमा ह्याट्रिक उपाधि जितेको थियो ।

यदि सिटीले ६ पटकका बालोन डि‘ओर विजेता मेस्सीलाई भित्र्याए लिगमा युनाइटेडले ३६ वर्ष नजिक रहेका रोनाल्डोलाई भित्र्याउन सबैखाले प्रयास गर्नेछ । इटालीमा रोनाल्डोको भविष्य अनिश्चित रहेका बेला युनाइटेड एक ‘आदर्श र सम्मानित सरुवा’का रूपमा रोनाल्डोलाई भित्र्याउन तयार देखिन्छ ।

प्रिमियर लिगमा आगामी समर सिजनमा यी दुवै सरुवा सम्भव भए स्पेनिस ला लिगाको ‘इएल क्लासिको’ भिडन्तको एक स्वरूप अब प्रिमियर लिगमा ‘म्यानचेस्टर डर्बी’ भिडन्तमा हेर्न पाइनेछ । रोनाल्डो रियल मड्रिडमा छँदा क्लासिको भिडन्तमा रियल र बार्सिलोनाको प्रतिस्पर्धाभन्दा ज्यादा रोनाल्डो र मेस्सीबीचको व्यक्तिगत प्रतिस्पर्धा बढी चर्चा र आकर्षणको विषय बन्थ्यो । तर, रोनाल्डोले सन् २०१८ मा रियल छाडेपछि क्लासिकोमा एक ठूलो चमक स्वात्तै घटेको छ ।

यदि सिटीले मेस्सीलाई भित्र्यायो र युनाइटेडले पनि रोनाल्डोलाई आफ्नो पुरानो घर फर्कायो भने फुटबल इतिहासकै सम्भवतः सबैभन्दा ठूलो व्यक्तिगत प्रतिस्पर्धाको रूपमा रोनाल्डो र मेस्सीको खेललाई पुनः प्रिमियर लिगमा दर्शकले हेर्न पाउनेछन् । तर, यसपटक फरक देश, फरक लिगबाट हुनेछ । ला लिगामा रियल र बार्सिलोनाबीच जस्तो कट्टर प्रतिस्पर्धा छ, प्रिमियर लिगमा सिटी र युनाइटेडबीच पनि उत्तिकै प्रतिष्ठित प्रतिस्पर्धा हुने गर्छ, जसलाई म्यानचेस्टर डर्बी भनिन्छ ।

मेस्सी सिटीमा जाने चर्चा सुरु भएसँगै रोनाल्डोको युनाइटेड फिर्तीको विषय पनि अहिले एकाएक तातेको छ । यदि युनाइटेडबाट रोनाल्डोका लागि उचित प्रस्ताव आएका युभेन्टसले आफ्ना प्रमुख खेलाडीलाई पुरानो घर फर्किन बाटो खुला गर्ने कुरा कठिन छैन ।

के रोनाल्डो र मेस्सीले पुनः घरेलु लिगमा एकअर्काविरुद्ध खेल्ने सम्भावना छ ? त्यो सम्भावना सिटी र युनाइटेडले पूरा गर्लान् ? यो हेर्न आगामी समर विन्डोसम्म पर्खिनुपर्ने छ ।

प्रकाशित मिति ५ मंसिर २०७७, शुक्रबार १३:४२
Loading...