‘ग्रीजम्यान भित्र्याउनु केटाकेटी निर्णय, कोम्यान धेरै समय रहँदैनन्’

एजन्सी, मंसिर ५
सन् २०१८ को विश्वकपविजेता फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान यतिबेला स्पेनिस बार्सिलोनामा खराब समयसँग जुधिरहेका छन् । अघिल्लो वर्ष १२० मिलियन युरोमा एथ्लेटिको मड्रिडबाट बार्सिलोना पुगेका उनलाई अहिले टोलीमा उच्च प्रदर्शन गर्नु त परकै कुरा, पहिलो रोजाइमा स्थान बनाउन पनि ठूलै संघर्ष गर्नु परिरहेको छ । कप्तान लिओनल मेस्सीकै पोजिसनबाट खेल्नुपर्ने भएपछि ग्रीजम्यान जम्न सकेका छैनन् ।

यसैबीच, बार्सिलोनाको आगामी नेतृत्व चुनावका अध्यक्ष पदका प्रमुख दाबेदार भिक्टोर फन्टले ग्रीजम्यान भित्र्याउनु अघिल्ला अध्यक्ष र प्रशिक्षकको गलत निर्णय रहेको बताएका छन् । उनले ग्रीजम्यान अनुबन्धको निर्णयलाई ‘केटाकेटी निर्णय’ भनेका छन् । बार्सिलोनामा मेस्सी हुँदाहुँदै उनको पोजिसनबाट खेल्ने अर्का स्टार खेलाडी भित्र्याउँदा टोलीमा समस्या बढेको पनि फन्टले बताएका छन् ।

‘मेस्सी हुँदाहुँदै उनको पोजिसनबाट खेल्ने ग्रीजमयान भित्र्याउनु त्यसबेलाका अध्यक्ष र प्रशिक्षकको केटाकेटी निर्णय थियो,’ फन्टले भनेका छन्, ‘ग्रीजम्यान किन बार्सिलोना आउन राजी भए, मैले अझै बुझ्न सकेको छैन । उनका लागि एथ्लेटिको नै उत्तम थियो,’ फन्टले भने ।

फन्टले त हालका प्रशिक्षक रोनाल्ड कोम्यानसँग टिमलाई अघि बढाउने कुनै योजना नरहेको पनि बताएका छन् । ‘नयाँ प्रशिक्षक (कोम्यान) को हालको स्थिथि हेर्दा उनीसँग टिमलाई अघि बढाउने र उपाधि जित्ने कुनै योजना छैन,’ फन्टले भने, ‘यदि म अध्यक्ष बनें भने मेरो योजनामा उनी प्रशिक्षक रहँदैनन् ।’

फन्टले बार्सिलोनालाई पूर्वप्रशिक्षक पेप ग्वार्डिओला वा पूर्वकप्तान जाभी हर्नान्डेजमध्ये एकले मात्रै सम्हाल्न सक्ने बताए । ‘बार्सिलोनालाई सम्हाल्न सक्ने प्रशिक्षक ग्वार्डिओला र जाभी मात्रै हुन् । जब म अध्यक्ष बन्छु, उनीहरूमध्ये कोही एकजना यहाँ आइपुग्नेछन्,’ फन्टले थपे ।

प्रकाशित मिति ५ मंसिर २०७७, शुक्रबार ११:४३
Loading...