‘मेस्सीलाई एथ्लेटिको मड्रिडमा ठाउँ छैन’

एजेन्सी, मंसिर ५
स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीले आगामी समर विन्डोमा क्लब छाड्ने करिब–करिब तय छ । १६ वर्षदेखि रहँदै आएको बार्सिलोना छाड्ने सम्भावना बढेपछि उनको नयाँ क्लब कुन होला र उनलाई कसले भित्र्याउला भन्नेमा धेरैको चासो छ । सरुवा बजारका रिपोर्टअनुसार ३४ वर्ष पुग्न लागेका मेस्सीलाई भित्र्याउने पहिलो दाबेदार क्लब भनेको इंग्लिस म्यानचेस्टर सिटी हो ।

कतिपयले मेस्सी आफ्ना खास साथी तथा पूर्वसहकर्मी लुइस स्वारेज गएको क्लब एथ्लेटिको मड्रिड जान सक्ने चर्चा पनि गर्ने गरेका छन् । स्वारेज अस्ति भर्खर समर विन्डोमा बार्सिलोनाबाट एथ्लेटिकोमा पुगेका थिए । बार्सिलोनामा ६ वर्ष मेस्सी र स्वारेजले मैदान र बाहिर पनि घनिष्ठ साथी बनेर बिताएका थिए ।

तर, एथ्लेटिकोका अध्यक्ष इनरिक केरेजोले भने मेस्सीका लागि एथ्लेटिकोमा कुनै स्थान नरहेको बताएका छन् । उनले मेस्सी आफूहरूलाई आवश्यक नरहेको स्पष्ट पारेका छन् । ‘एथ्लेटिको मड्रिडमा मेस्सीका लागि स्थान छैन । उनी बार्सिलोनाका एक खेलाडी हुन् । र, उनी यतिबेला थुप्रै समस्याले बेरिएका छन् । यी समस्याबाट मुक्त हुन उनलाई सजिलो छैन । मलाई लाग्छ, बार्सिलोनाले उनलाई सजिलै छाड्न दिनेछैन,’ केरेजोले भने ।

केरेजोले एथ्लेटिको हालकै टोलीका साथ राम्रो टोली रहेको बताए । ‘हामीलाई फ्रन्ट लाइनमा ठूला खेलाडी आवश्यक छैन । हामीसँग अहिले जुन टिम छ, त्यो नै पर्याप्त छ । मेस्सीजस्ता खेलाडी टोलीमा ल्याउँदा जति सजिलो हुन्छ, त्योभन्दा धेरै अप्ठेराहरू पनि बढ्छन्,’ केरेजोले भने ।

प्रकाशित मिति ५ मंसिर २०७७, शुक्रबार १०:५२
Loading...