हाजार्ड र मिलिटाओ कोरोनामुक्त : भाराने पनि प्रशिक्षणमा फर्किए

एजेन्सी, मंसिर ५
अन्तर्राष्ट्रिय ब्रेकपछि क्लब फुटबलमा फर्किंदा खेलाडीको चोट र कोरोना भाइरसको संक्रमणका कारण समस्यामा परेको स्पेनिस क्लब रियल मड्रिडलाई राहत मिल्ने भएको छ । टोलीका ३ जना प्रमुख खेलाडी इडेन हाजार्ड, इडर मिलिटाओ र राफाएल भाराने कोरोनामुक्त भएर प्रशिक्षणमा फर्किएका छन् ।

क्लब रियलले अफिसियल रूपमा जानकारी दिँदै विंगर इडेन हाजार्ड र डिफेन्डर मिलिटाओ कोरोनाबाट मुक्त भएको पुष्टि गरेको छ । यी दुवै खेलाडीले बिहीबारदेखि नै सामूहिक प्रशिक्षण थालेका छन् । यी दुई खेलाडीको कमब्याकले प्रशिक्षक जिनेदिन जिदानलाई राहत मिलेको छ ।

मिलिटाओलाई नोभेम्बर २ ताखिमा कोरोना पुष्टि हुँदा हाजार्ड र कासेमिरोलाई नोभेम्बर ८ तारिखमा कोरोना पुष्टि भएको थियो । जसमा मिलिटाओ र हाजार्ड कोरोनामुक्त भए पनि कासेमिरो भने अझै पनि कोरोना संक्रमणसँगै जुधिरहेका छन् ।

यता, फ्रेन्च डिफेन्डर भाराने पनि चोटमुक्त भएका छन् । उनको काँधमा चोट परे पनि चोट सामान्य रहेकाले उनले मेडिकल टिमबाट पास पाउँदै समूहसँगै प्रशिक्षण सुरु गरिसकेका छन् । भाराने र मिलिटाओको कमब्याक हुँदा खराब स्थितिमा रहेको रक्षापंक्तिमा तनाव कम हुने भएको छ ।

यी तीन खेलाडी प्रशिक्षणमा फर्किनुअघि सिनियर टोलीका जम्मा ८ जना खेलाडी खेल्न सक्ने स्थितिमा थिएनन् । जसमा कप्तान सर्जियो रामोस, कासेमिरो, फेडे भाल्भर्डे, अल्भारो ओड्रिओजाला र करिम बेन्जेमा अझै पनि टोलीबाहिरै हुनेछन् । कासेमिरोबाहेक सबै खेलाडी घाइते छन् । बेन्जेमाले पनि समूहसँगै प्रशिक्षण सुरु गरेका छन् । तर, उनले खेल्नका लागि मेडिकल पास पाइसकेका छन् ।

प्रकाशित मिति ५ मंसिर २०७७, शुक्रबार ०९:१९
Loading...